काठमाडौँ — एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि काभ्रेको पतञ्जलि जग्गा प्रकरणमा मुद्दा दायर भए पनि पद नछाड्ने संकेत गरेका छन् । यो मुद्दामा विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा छाडेको थियो ।
समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धाधन आयोगले नेपालविरुद्ध मुद्दा दायर गरी पार्टी सिध्याउने षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । उनीमाथि मुद्दा दायर भएपछि नैतिकताका आधारमा अध्यक्ष पद छाड्नुपर्ने टिप्पणी भइरहेका बेला पदाधिकारी बैठकमा बोल्ने नेताहरुले पार्टीविरुद्ध मुद्दा लगाएको दाबी गरेका छन् ।
शुक्रबार सुरु भएको सचिवालय बैठकमा बोल्दै नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै गल्ती नगरेको उल्लेख गर्दै यो सिंगो पार्टीविरुद्ध षड्यन्त्र भएको दाबी गरेका थिए । ‘मैले गल्ती गरेको छैन । पूर्वाग्रहले मुद्दा लगाएको छ । यो पार्टीविरुद्धको षडयन्त्र हो,’ नेपालको भनाइ थियो ।
बैठकमा बोल्ने नेताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दबाबमा परेर अध्यक्ष नेपाललाई मुद्दा लगाएर एकीकृत समाजवादीलाई सिध्याउन खोजेको बताएका थिए । ‘सिधै पूर्वाग्रह राखेर प्रतिशोध साँध्न मुद्दा लगाइएको हो । यो पार्टीभित्रको विषय होइन । अध्यक्षबारे पार्टीभित्र कुनै प्रश्न उठेको छैन । शंका उठेको छैन,’ उपाध्यक्ष बेदुराम भुसालले भने, ‘मुद्दा लाग्नेबित्तिकै जिम्मेवारीबाट छोड्ने हो भने कसरी चल्छ ?’
समाजवादीका ‘सम्मानित’ नेता झलनाथ खनालले अध्यक्ष नेपालमाथि लगाइएको मुद्दाबारे पार्टीभित्र छलफल चलिरहेको बताए । ‘अध्यक्ष माधव नेपालजीलाई मुद्दा लगाएपछि बाहिर प्रश्न उठेको छ,’ उनले भने, ‘सचिवालय बैठकमा यसबारे कुरा उठेन । प्रश्न उठेपछि नेतृत्वले के गर्छ ? हेर्न बाँकी छ ।’
समाजवादीका प्रवक्ता जगनाथ खतिवडाले अध्यक्ष नेपालविरुद्ध मुद्दा दायर भए पनि पार्टी झन् एकताबद्ध हुनुपर्ने कुरा उठेको बताए । ‘माधव नेपाललाई मुद्दा लगाएर समाजवादीलाई सिध्याउन खोजिएको हो,’ उनले भने, ‘यो पार्टीविरुद्ध हो । पार्टीभित्र अभूतपूर्व एकता हुनुपर्छ भन्नेमा नेताहरुको भनाइ आयो ।’
बैठकमा १० जना नेताले आफ्ना धारणा राखेका थिए ।
