पैसा खर्च गरेर पढ्छु भन्ने हुनेखानेलाई विकल्प दिइएन भने पुँजी पनि बाहिर जान्छ : शिक्षामन्त्री पन्त

असार १३, २०८२

कान्तिपुर संवाददाता

If those who spend money and study are not given an option, the capital will also go out: Education Minister Pant

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षामा निजी क्षेत्रलाई पनि ठाउँ दिनुपर्ने बताएका छन् । उनले हुनेखानेहरूका सन्तानलाई पढाउनका लागि निजी क्षेत्रलाई विद्यालय खोल्न दिनुपर्ने बताएका हुन् । 

विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा मन्त्री पन्तले महँगो पैसा तिरेर पढ्छु भन्ने हुने खानेहरूका लागि विद्यालय खोल्न दिनुपर्ने बताएका हुन् ।

विगतमा नेपालमा राम्रा निजी विद्यालय नहुँदा भारतका विभिन्न ठाउँमा जाने गरेको उल्लेख गर्दै पन्तले निजी क्षेत्रलाई शिक्षामा प्रवेश गराउनुपर्ने बताए । राज्यले अनिवार्य र निःशुल्क शिक्षाबाट पछि हट्न नमिल्ने तर निजी क्षेत्रलाई महंगा शिक्षालय खोल्न दिनुपर्ने पन्तको भनाइ छ ।

'हुनेखानेले पैसा खर्च गरेर पढ्छु भन्नेलाई विकल्प उपलब्ध गराउन सकिएन भने पुँजी पनि बाहिर जान्छ, मानव पनि बाहिर जान्छ । योभन्दा राज्य के अनिवार्य र निःशुल्क शिक्षाबाट हट्यो त ? होइन, हटेको छैन । राज्यको अनिवार्य र निःशुल्क शिक्षा ती मानिसहरूलाई हो, जसलाई जरुरत छ । जसको लागि आवश्यकता छ त्यसको लागि राज्य उपलब्ध हुनुपर्दछ,' पन्तले भने, 'जो सरकारी स्कुलमा पढ्न आउँछन्, अर्बपतिको छोरा पनि सार्वजनिक विद्यालयमा पढ्न आउँछु भन्दा त तपाईँले रोक्न सक्नुहुन्न, रोक्नुहुन्न । उनीहरूलाई पनि खुल्ला छ ।'

मन्त्री पन्तले निजी विद्यालय गुठीमा जाने छुट दिनुपर्ने बताए । 'निजी विद्यालयहरू गुठीमा जान्छन् भने छुट दिऔँ । राज्यको लगानी र ध्यान सार्वजनिक शिक्षामा लगाऔँ । कसरी क्वालिटीको बनाउने भन्नेमा राज्यको ध्यान केन्द्रित हुनुपर्छ,' उनले भने । 

जहाँ पनि निजी क्षेत्र नाफा कमाउनका लागि नै प्रवेश गर्ने बताउँदै पन्तले नाफा धेरै नखाउ भन्नुपर्ने बताए । बैंकबाट ऋण लिएर निजी क्षेत्र शिक्षामा लगानी गर्न आउने भएकाले पनि त्यसका लागि नाफा धेरै नखाउ भन्नुपर्ने धारणा राखे । 

मन्त्री पन्तले राज्य निजी क्षेत्रलाई निषेध गरेर जाने पक्षमा नरहेको बताए । उनले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन राज्य लाग्नुपर्ने धारणा राखेका थिए ।  

कान्तिपुर

Link copied successfully