काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्ड, हेल्भेटास नेपाल र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबीच श्रम, रोजगार तथा आप्रवासन समन्वयमा क्षमता विकासका लागि त्रिपक्षीय सहमति पत्रमा शुक्रबार हस्ताक्षर गरिएको छ।
मन्त्रालयको नेतृत्वमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत श्रमिकहरूलाई लक्षित गर्दै स्थानीय तहमा कार्यरत निकायहरू, जनशक्ति र संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो सहमति गरिएको हो। सहमति अनुसार स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले आवश्यक पाठ्यक्रम, तालिम सामग्री, तालिम प्रशिक्षकको व्यवस्था तथा अन्य व्यवस्थापनमा सहयोग पुर्याउनेछ।
वैदेशिक रोजगार बोर्डले जनशक्तिको क्षमता विकासका लागि सहकार्य गर्न आवश्यक तालिमहरू, तालिम पुस्तिका, कार्यशाला, पाठ्यक्रम तथा सामाजिक संरचनासम्बन्धी विकासका पक्षहरूमा आवश्यक समन्वय र सहयोग गर्नेछ। हेल्भेटास नेपालले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत यस कार्यको समन्वय, कार्यान्वयन र अनुगमनमा भूमिका खेल्नेछ।
सहमति अनुसार विभिन्न पक्षले तालिम सामग्री विकास, कार्यक्रम कार्यान्वयन, अनुगमन तथा मूल्यांकनसम्मका कार्यहरूमा जिम्मेवारी निर्वाह गर्नेछन्।
सहमति पत्रमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुन लाल चौधरी, वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती, र हेल्भेटास नेपालका राष्ट्रिय निर्देशक मनीष प्रधानले हस्ताक्षर गरेका छन्।
यस सहमतिको कार्यान्वयनबाट आप्रवासन व्यवस्थापनमा संलग्न प्रदेश र स्थानीय तहका निकायहरूको क्षमता वृद्धि हुने विश्वास लिइएको छ।
