पाल्पाको गल्धाका महिला किसानलाई अदुवा खेती गर्न र चाना बनाउन भ्याइनभ्याई
निस्दी, पाल्पा — केही वर्षयता निस्दी गाउँपालिका–५ गल्धाका किसानलाई अदुवा लगाउन, उत्पादित अदुवाको चाना बनाउन र विदेश पठाउन भ्याइनभ्याई छ । जति खटिँदा पनि उनीहरूले माग भए जति उत्पादन गर्न र निर्यात गर्न सकिरहेका छैनन् ।
पहिला गाउँमा अदुवा खेती त गरिन्थ्यो, तर बजारको समस्या थियो । बजार पुर्याइए पनि बिचौलियाको भर पर्नुपर्ने बाध्यता थियो, मूल्य पाउन गाह्रो पर्थ्यो । पछि किसानले दाउरा बालेर सुठो बनाएर बिक्री गर्न थाले । जब २०७३ मा गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्था स्थापना भयो, त्यसपछि स्थानीय कृषि उत्पादनको प्रवर्द्धन सुरु भयो । अचेल दाउराको विकल्पमा मेसिनको प्रयोगबाट अदुवाको चाना बनाइन्छ ।
सदरमुकाम तानसेनदेखि ६५ किमि टाढाको यस गाउँमा व्यावसायिक अदुवा खेती गर्ने बढेका छन् । २०७८ देखि सहकारीले किसानको अदुवा खरिद गर्न थाल्यो, सहकारीमा ५४१ जना महिला सेयर सदस्य छन् । अदुवा २७२ जनाले लगाएका छन् ।
५ नम्बर वडामा करिब ९ सय रोपनी क्षेत्रफलमा अदुवा लगाइएको सहकारीकी व्यवस्थापक डिलमाया सारु बताउँछिन् । ‘अदुवा पहिला पनि लगाइन्थ्यो, नजिकका सहर बजारमा लगेर बिक्री गरिन्थ्यो,’ उनी भन्छिन्, ‘बजार भए पनि मूल्य पाइँदैन थियो, अहिले विदेशसम्म निर्यात हुन थालेको छ ।’
उनका अनुसार युरोप निर्यात हुन थालेको तीन वर्ष भयो । ‘सुरुको ३ सय ५० रुपैयाँका दरले वर्ष ८०५ केजी, दोस्रो वर्ष ७ सय ५० रुपैयाँका दरले ४ हजार ४ सय ६० केजी जर्मनी पठायौं,’ उनले भनिन्, ‘चालु वर्ष अहिलेसम्म ४ सय ९३.९ रुपैयाँका दरले १४ हजार ५ सय ६० केजी निर्यात गरिसकेका छौं ।’
यो वर्ष मात्र ७१ लाख ९१ हजार रुपैयाँको सुकेको चाना अदुवा निर्यात गरिएको उनले बताइन् । उनका अनुसार १ लाख १५ हजार केजी ताजा अदुवा किसानबाट खरिद गरिएको थियो । किसानबाट प्रतिकेजी ६० रुपैयाँका दरले अदुवा खरिद गरिएको हो । पछि बढीमा बिक्री गरेको रकम सहकारीमा रहने र सेयर सदस्यलाई बोनसका रूपमा बाँड्ने गरेको उनले बताइन् ।
‘९३ हजार ३ सय ७३ केजी प्रशोधन गर्दा १४ हजार केजी चाना बन्यो,’ उनले भनिन्, ‘फेरि अदुवा साढे ६ केजी प्रशोधन गर्दा एक केजी मात्र चाना बन्छ ।’ खरिद गरेकैबाट ८ हजार ६ सय ९० केजी जुसका लागि यही वर्ष जर्मनी पठाएको उनको भनाइ छ, जसबाट ८ लाख १९ हजार ४ सय ६७ रुपैयाँ सहकारीले आम्दानी गरेको छ ।
गाउँमा उत्पादन भएको अदुवा हेफर इन्टरनेसनल नेपालको सहयोगमा अकेस्टा नेपालले नसे जातको अदुवाको २० हजार केजी सुकाएको चाना माग गरेको थियो । मागअनुसार पुर्याउन नसकिएको व्यवस्थापक सारुको भनाइ छ । अदुवा लगाउनदेखि प्रशोधन गर्नसम्म हेफरको आर्थिक र प्राविधिक सहयोग रहेको सारुले बताउछिन् ।
सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा अदुवा धुने, चाना पार्ने, सुकाउने, पिस्ने, प्याकेजिङ गर्ने सामग्री सहयोग जुटाएर सहकारीले महिलाहरूलाई रोजगार दिएको छ । अदुवा अर्ग्यानिक हो, होइन भनेर जर्मनीकै सेरेस कम्पनीले किसानै घरघर पुगेर गुणस्तर जाँच गर्छ । उसले अर्ग्यानिक हो भनेर प्रमाणित गरेपछि मात्र जर्मनी निकास गर्न योग्य हुने सारुले सुनाइन् । युरोप निर्यात भने अकेस्टा नेपालमार्फत हुने गरेको छ ।
यस वर्ष अर्ग्यानिक प्रमाणित भएको काँचो अदुवासमेत निकासी गरिएको सहकारीकी अध्यक्ष अममाया मश्रांगीले बताइन् । ‘२० हजार केजी काँचो अदुवाको माग थियो,’ उनले भनिन्, ‘तर मागअनुसार उत्पादन हुन नसक्दा थोरै मात्र निकासी गरेका हौं ।’
जुसजन्य प्रयोजनका लागि लगाइएको बोसे अदुवा राम्रो नफलेका कारण लक्ष्यअनुसार पठाउन नसकेको उनले बताइन् । सुकेको चाना अर्ग्यानिक प्रमाणित भएको अदुवा कम भएकाले थोरै निकासी भएको हो । महिलालाई आत्मनिर्भर गराउन नगदेबाली अदुवा लगाउन प्रोत्साहन गर्दै आएको सहकारी संस्थाकी नारायणी ढुंगानाले बताइन् ।
गल्धा क्षेत्रको मात्र अर्ग्यानिक प्रमाणित भएकाले आगामी दिनमा नजिकका ज्यामिरे, मित्याल, झिरुवास र सहलकोटको अदुवा पनि अर्ग्यानिक प्रमाणितको पहल गर्ने संस्थाले जनाएको छ । निस्दीमा उत्पादित अदुवा स्थानीय व्यापारीले खरिद गरी यसअघि बुटवल, भैरहवा, काठमाडौंदेखि छिमेकी देश भारतसम्म मात्र लग्थे । ‘अरू–अरू देशमा पनि पठाउने तयारी छ,’ सारु भन्छिन्, ‘खेतीमा आकर्षण पनि बढ्दै गएको छ ।’
नेपालमा उत्पादित अदुवाको मुख्य बजार भारत हो । चालु आर्थिक वर्षको ११ महिनामा विभिन्न मुलुकमा गरेर ५४ करोड ३६ लाख ७१ हजार बराबरको ३२ लाख ४४ हजार १ सय ७६ केजी अदुवा निर्यात भएको छ ।
जसमा ताजा अदुवा मात्र २८ करोड ९८ लाख रुपैयाँ बराबरको २५ लाख ४५ हजार केजी निर्यात भएको भन्सार विभागको तथ्यांकमा छ । नेपालको सबैभन्दा ठूलो बजार भारतमा २८ करोड ७८ लाख मूल्य बराबरको २५ लाख ३६ हजार केजी ताजा अदुवा निर्यात भएको छ । सुठो अदुवा भने ४ करोड ८४ लाख बराबरको २ लाख ९९ हजार २ सय ११ केजी निकासी भएको हो ।
ताजा अदुवा जापानमा १३ हजारको ३० किलो, स्विट्जरल्यान्डमा ८ हजार रुपैयाँ बराबरको १० किलो निर्यात भएको हो । त्यस्तै, नेदरल्यान्ड्समा ३८ लाखको सुठो ६ हजार ९ केजी र २० लाख मूल्यको ८ हजार ६ सय ९० केजी ताजा अदुवा निर्यात भएको छ । भारतपछि सबैभन्दा धेरै १७ करोड १५ लाख रुपैयाँ बराबरको २ लाख १० हजार ४ सय ६० किलो सुठो अदुवा जर्मनी निकासी गरिएको छ ।
