काठमाडौँ — दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक मानप्रसाद लिम्बु जनही २५ हजार धरौटी बुझाएर रिहा भएका छन् ।
अदालतको अवहेलना गरेको अभियोमा दायर मुद्दामा विशेष अदालतले तोकेको धरौटी तिरेर उनीहरु छुटेका हुन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइराला सम्मिलित ६ सदस्यीय इजलासले अदालतको अवहेलना मुद्दामा दुवैसँग २५/२५ हजार रुपैयाँ धरौटी माग गरेको हो ।
विशेष अदालतबाट भएका 'न्याय सम्पादनलाई लिएर अदालतप्रति आमजनमानसमा दिग्भ्रमित पार्ने र अदालतका कामकारबाही प्रभावित पार्ने गरी यस अदालतको अवहेलना र कारबाही गरी पाउँ भनी विशेष अदालत प्रशासनले रिट दर्ता गरेको थियो । त्यसको सुनुवाइ गर्दै विशेषले पछि ठहरेबमोजिम हुने गरी हाललाई मिडियाका अध्यक्ष र कार्यकारी सम्पादकसँग धरौटी मागेको हो ।
विशेष अदालतमा भएका सबै न्यायाधीश सम्मिलित ६ जनाको इजलास यो पहिलो घटना हो ।‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ भन्दै गत आइतबार गत दृष्टिले समाचार लेखेको थियो । आधारहिन तवरले समाचार लेखी अदालतको अवहेलना गरेको भन्दै दृष्टि साप्ताहिक, त्यसका प्रकाशक, सम्पादक र संवाददाताविरुद्ध अदालत प्रशासनले मुद्दा दायर गरेको थियो ।
