काठमाडौँ — एमाले सचिवालय बैठक : नेता पाण्डे र तिम्सेनाको निलम्बन फुकुवा, विनयी खोलामा बन्यो डाइभर्सन, एकतर्फी यातायात सञ्चालन, संसदीय समितिमा सर्वसम्मत पारित विधेयकमाथि छेडखानी नगर्न दाहालको आग्रह, अण्डाको उत्पादन घट्यो, मूल्य बढ्योदेखि दक्षिणपश्चिम चीनमा बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापितसम्मका खबर आज चर्चामा रहे ।
०००
एमाले केन्द्रीय कार्यालय दानमा बनाउने निर्णय गलत भएको भन्दै फरक मत राख्दा निलम्बनमा परेका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा भएको छ । २०८१ पुसमा पाण्डे, तिम्सेना र नेता भीम रावललाई निलम्बन गरेकामा पाण्डे र तिम्सेनाको कारबाही फुकुवा गर्ने निर्णय केन्द्रीय सचिवालय बैठकले गरेको हो । रावल भने एमालेबाट बाहिरिइसकेका छन् ।
०००
महेन्द्र राजमार्गअन्तर्गत दुम्कीबासस्थित विनयी खोलामा डाइभर्सन निर्माण गरेर राजमार्ग एकतर्फी खुलाइएको छ । दुई दिनअघि बाढीले बगाएको डाइभर्सन बुधबार अपराह्न निर्माण गरेर यातायात सञ्चालन गरिएको हो । जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी मधु नेपालले बुधबार साढे ५ बजेबाट त्यहाँ यातायात सञ्चालन भएको जानकारी दिए ।
०००
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले संसदीय समितिबाट सर्वसम्मतरूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेस हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उक्त टिप्पणी गरेका हुन् ।
०००
अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ ।
०००
चीनको दक्षिणपश्चिममा आएको बाढीले ८० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ । भत्किएको पुलका कारण एक ट्रक चालकलाई पुलको छेउमा झुण्डिएको अवस्थामा नाटकीय रूपमा उद्धार गर्नुपरेको छ ।
