नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत दुम्कीबासस्थित विनयी खोलामा डाइभर्सन निर्माण गरेर राजमार्ग एकतर्फी खुलाइएको छ । दुई दिनअघि बाढीले बगाएको डाइभर्सन बुधबार अपराह्न निर्माण गरेर यातायात सञ्चालन गरिएको हो ।
जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी मधु नेपालले बुधबार साढे ५ बजेबाट त्यहाँ यातायात सञ्चालन भएको जानकारी दिए । बुधबारसमेत गरेर विनयी खोलामा १० पटक डाइभर्सन निर्माण भइसकेको हो । यसअघि निर्माण गरिएका नौ वटा डाइभर्सन बाढीले बगाएको थियो ।
डाइभर्सन निर्माण गरिएपछि गैंडाकोटदेखि दुम्कीबास क्षेत्रसम्मको ५० किलोमिटर क्षेत्रमा रोकिएका ट्रक र लामा गाडी गन्तव्यमा पठाउन सजिलो भएको छ । हरेक साँझ ७ बजेबाट भोलिपल्ट बिहान ५ बजेसम्म दाउन्ने सडक मर्मत गर्न भन्दै त्यहाँ प्रहरीले गाडी चल्न दिँदैन ।
विनयी खोलाको फलामे पुल गत पुस २६ गते भाचिएपछि त्यहाँ डाइभर्सन बनाएर यातायात संचालन हुँदै आएको छ । बाढी आउनासाथ डाइभर्सन बगाउने जोखिम भने कायमै छ ।
