सरकारले दबाबमा परेर जथाभावी अनुदान लिनुहुँदैन : पूर्वअर्थमन्त्री शर्मा

असार ११, २०८२

कान्तिपुर संवाददाता

The government should not accept subsidies under pressure: Former Finance Minister Sharma

काठमाडौँ — पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नीतिगत हस्तक्षेपबाट मुक्त भएर लगानी गर्न सक्ने अनुदानमात्रै लिनुपर्ने बताएका छन्। उनले सरकारले नीतिगत हस्तक्षेपमा परेर जथाभावी अनुदान लिँदा समस्या उत्पन्न हुनेतर्फ सजग गराए।

बुधबार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै उनले नेपालले पैसामा लगानी गर्ने नभइ नीतिमा लगानी गर्ने गरेको बताए। सरकारले लिएका बढी अनुदानहरु नीतिगत हस्तक्षेपको रुपमा आउने गरेकाले नेपालले भनेअनुसार विकास गर्न नसकेको उनको भनाइ छ।

आफूले भनेअनुसार लगानी गर्न नपाउँदा देशको आवश्यकताअनुसार चल्न नसकिएको उनले बताए। राष्ट्रियता, सार्वभौमिकताको प्रश्नमा तलमाथि नहुने गरीको सहायता स्वीकार गर्न जरुरी रहेको उनको भनाइ छ । दीर्घकालीन आर्थिक विकासलाई मद्दत पुग्ने कुराहरु मात्रै स्वीकार गर्न आवश्यक रहेको उनको भनाइ छ। 

पूर्वअर्थमन्त्री शर्माले भने, ‘हाम्रो लगानी पैसामा होइन, नीतिमा हुँदो रहेछ । नीतिगत हस्तक्षेपको रुपमा आउँदो रहेछ । हामी स्वतन्त्रै छैनौँ । हामीले भनेअनुसार लगानी गर्न पाउने कुरा होइन रहेछ । हाम्रो देशको आवश्यकतामा हामीले हाम्रो देशको अर्थतन्त्रलाई रक्षा गर्न केही निर्णय गर्‍यो भने यति दबाब, यति हस्तक्षेप, नीतिगत हस्तक्षेपबाट मुक्त स्वतन्त्र ढंगले लगानी गर्नसक्ने फण्ड लिने हो हामीले । तर सबै कुरा बाँधिएका छन् । नीतिगत यस्ता विषय छन् जसले हामीलाई आफ्नो भएको कुरा पनि प्रयोग गर्न नसक्ने अवस्थामा पुर्‍याउने कुराबाट मुक्त हुनुपर्छ।'

पूर्वअर्थमन्त्री शर्माले आफ्नो ढंगले सञ्चालन गर्न नसक्ने, नपाउने र नेपालको अवस्थालाई सुधार गर्ने भन्दा त्यही ऋणमा परेर अझ समस्यामा पर्ने हो भने ती कुराहरु आवश्यक नरहेको बताए। 

कान्तिपुर

Link copied successfully