प्रहरीमा राजनीतिक हस्तक्षेपले ‘चेन अफ कमान्ड’ प्रभावित भयो : सांसद थानी

असार ११, २०८२

कान्तिपुर संवाददाता

Political interference in the police affected the 'chain of command': MP Thani

काठमाडौँ — सत्तारुढ कांग्रेसका सांसद हृदयराम थानीले नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुँदा नेतृत्व प्रणाली प्रभावित भएको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद थानीले नेपाल प्रहरीमा पनि नेपाली सेनामा जस्तै नेतृत्वको स्वाभाविक दाबेदार हुने नीति निर्माण गर्नुपर्ने प्रस्ताव गरे । 

राज्यव्यवस्था समितिको बुधबारको बैठकमा 'नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक'माथिको छलफलमा प्रहरीमा भइरहेको राजनीतिक हस्तक्षेपले चिन्ताको अवस्था सिर्जना गरेको थानीको भनाइ थियो । विगतमा प्रहरी नेतृत्वमा गरिएका विवादास्पद निर्णयहरू उल्लेख गर्दै उनले प्रहरी संगठनको ‘चेन अफ कमान्ड’ लाई नै कमजोर बनाउने कार्य दोहोर्‍याउन नहुने बताए । 

कानुनमै व्यवस्था गरेर प्रहरी संगठनभित्र राजनीतिक हस्तक्षेप नहुने व्यवस्था गर्नुपर्ने सांसद थानीको प्रस्ताव थियो ।

'हामीले प्रहरीमाथि धेरै राजनीतिकरण गर्दै आइरहेका छौँ । नेपाल प्रहरीको प्रणालीलाई विभिन्न तरिकाले भत्काउने काम हामी सबै लागेर बारम्बार गरिरहेको अवस्था छ । ३२ वर्षे सेवा अवधिमा ३० वर्ष बनाएर आईजीपीलाई हटाउने काम गर्‍यौं, ३६ दिनमै प्रहरी महानिरीक्षकलाई अन्यत्र सरुवा गरेर काम गर्‍यौं,' थानीले भने, 'कनिष्ठलाई एक महिनाअघि एआईजी बनाएर आईजीपी बनाएको इतिहास पनि हामीसँग छ । कहिले हामी एक नम्बरलाई नबनाएर ३ र २ नम्बरकोलाई बनाउँदै विवाद अदालतसम्म पुर्‍याएको इतिहास पनि छ । यस्तो परिस्थितिमा नेपाल प्रहरीले कसरी काम गरिरहेको होला भन्नेमा गृहमन्त्रीदेखि सबैको ध्यान चाहोस् । यसरी कमान्ड एन्ड कन्ट्रोलमा चल्नुपर्ने संगठनलाई राजनीतिभित्र राखेर हामीले काम गर्दा के अवस्था आउँला ? त्यसैले अहिलेको अवस्थामा चेन अफ कमान्ड प्रभावित भएको अवस्था छ ।'

राजनीतिक हस्तक्षेप लगायतले नेपाल प्रहरीलाई कमजोर बनाइएको बताउँदै उनले कानुनी प्रावधान नै कडा पारेर जानुपर्ने बताए ।  

कान्तिपुर

Link copied successfully