नागढुंगा-मुग्लिन सडक स्तरोन्नतिको काम कति सकियो ?

नागढुंगा–नौबिसे खण्डमा पहिलो तहको कालोपत्रको काम सकियो

असार ११, २०८२

कान्तिपुर संवाददाता

Nagdhunga-Muglin road upgradation work completed?

काठमाडौँ — तीन खण्डमा विभाजन गरेर स्तरनोन्नतीको काम सुरु गरिएको नागढुंगा‌- नौबिसे सडक खण्ड अन्तर्गतको पहिलो खण्डको कालोपत्रेको पहिलो तहको काम सकिएको छ ।

नागढुंगादेखि मुग्लिनसम्मको ९४.६६ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ ।  १२.२६ किमि दुरीको पहिलो नागढुंगा–नौबिसे  खण्डमा अहिले १२.१ किमि सडकमा पहिलो तहको कालोपत्र सकिएको छ । यही खण्डमा दोस्रो तहको कालोपत्र गर्ने काम पनि ५.५ किमि सकिइसकेको छ । यो खण्डमा तेस्रो तहसम्म सडक कालोपत्र गरिन्छ ।   नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले  बाँकी तह निर्माणको काम भने बर्खापछि मात्र थालिने बताए । कार्यालयलका अनुसार एक तह मात्रै कालोपत्रे मात्रै गर्दा पनि सवारी साधन चलाउन भने मिल्छ । 

यही खण्डमा झ्याप्ले खोलाको सय मिटर खण्डमा मात्र कालोपत्र गरिएको छैन । सडक विभागको तथ्यांकअनुसार यो खण्ड भएर दैनिक १२ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् ।  कार्यलयका अनुसार झ्याप्ले खोलामा विशेष प्रकृतिको स्लोब स्टेबलाइजेसन (पहिरो नियन्त्रण) को काम भइरहेको छ । यसको काम सकिएपछि मात्र त्यस खण्डमा कालोपत्र गरिने छ । ओझाका अनुसार यो खण्ड पहिरोको जोखिम क्षेत्रभित्र पर्छ । अहिले यस खण्डमा दुईतर्फी नै पहिलो तहको कालोपत्रको काम सकिएको छ । उक्त खण्डको समग्र भौतिक प्रगति ८४ प्रतिशत रहेको उनले बताए । 

नागढुंगा‌- नौबिसे सडक खण्डको स्तरोन्नतिको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीले पाएको छ । २९ चैत २०७८ मा भएको यस प्याकेजको निर्माण ठेक्का सम्झौताअनुसार २७ जेठ २०८१ भित्र काम नसकिएपछि माघ २०८१ सम्मका लागि म्याद थपिएको थियो, तर लक्ष्यअनुसार काम हुन सकेन । फेरि थपिएको म्याद १० साउन २०८२ सम्मका लागि छ । तर साउनसम्म काम सकिने अवस्था छैन।

नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले यही खण्डको खानी खोलामा पैदलयात्रीका लागि अपांगमैत्री आकासे पुल बनाउन लागिएको बताए । ‘उक्त ठाउँमा ९ वटामध्ये ८ वटा घर भत्काइसकिएको छ,’ उनले भने, ‘ह्विलचियर गुडाएर तलमाथि गर्न मिल्ने अपांगमैत्री पुल बनाउन लागिएको हो।’ तर अकासे पुल बनाउन लाग्ने समय थप गरिने उनको भनाइ छ।

दोस्रो खण्डमा पर्छ, नौबिसे–मलेखु खण्ड। यसको दूरी ४३.५४ किमि छ । ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामा जेभीले यसको ठेक्का लिएका हुन् । १४ वैशाख २०७९ मा ठेक्का सम्झौता भएको यस खण्डको काम जेठ २०८२ भित्र सक्नुपर्ने थियो, उक्त सकिएन । अहिलेसम्म यसको भौतिक प्रगति ४२ प्रतिशत मात्र छ । यस खण्डमा दुवैतर्फी गरेर १३ किमि सडकमा पहिलो तहको कालोपत्र भएको छ ।

नागढुंगादेखि नौबिसेसम्म ४.७ किमि र नौबिसेदेखि मलेखुसम्म १७.५ किमि छुट्टै ‘क्लाइम्बिङ’ लेन बनाइनेछ । तीन लेन भएको ठाउँमा एक लेन ‘क्लाइम्बिङ’ बन्ने र मुग्लिनबाट काठमाडौंतर्फ आउँदा उकालो पर्ने ठाउँमा मालवाहक सवारीका लागि छुट्टै ‘क्लाइम्बिङ’ लेन बनाइएको उनको भनाइ छ । क्लाइम्बिङ लेन बनिसकेको छ, त्यो कुन लेन हो भनेर तेस्रो तहको कालोपत्र सकिएपछि मार्किङ गरेर छुट्याइने आयोजनाले जनायो ।

तेस्रो खण्डमा पर्छ, मलेखु–मुग्लिन खण्ड । ३८.८६ किमि दूरीको यो खण्डको प्रगति ३१ प्रतिशत छ । शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको छ । १५ पुस २०७९ मा भएको सम्झौताअनुसार पुस २०८२ भित्र काम सक्नुपर्ने हो । नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले यस  खण्डमा ८ किमि कालोपत्र गरिएको र बजार क्षेत्रमा चार लेन सडकमा कालोपत्र गरिएको बताए ।  

कान्तिपुर

Link copied successfully