भारतको उत्तराखण्डबाट उद्धार गरिएका ५७ जनालाई नेपाल ल्याइयो

आकर्षक नोकरीको प्रलोभन देखाइ घरबाट बोलाएर बन्धक बनाइएको थियो

असार ११, २०८२

भवानी भट्ट

57 people rescued from Uttarakhand in India were brought to Nepal

कञ्चनपुर — नोकरी दिने प्रलोभन देखाइ भारत उत्तराखण्डको रुद्रपुर र काशीपुरमा बन्धक बनाएका ५७ जना नेपालीलाई उद्धार गरी बुधबार गड्डाचौकी नाका हुँदै नेपाल ल्याइएको छ ।

‘किन इन्डिया’ स्थानीय प्रहरीको सहयोगमा उद्धार गरिएका उनीहरुलाई संघ संस्था र भारतस्थित नेपाली दूतावासको सहयोगमा ल्याइएको हो । 

गड्डाचौकी नाकामा पुगेका उनीहरुलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बरबहादुर विश्वकर्माले स्वागत गरेका हुन् । 

किनले उद्धार गरी ल्याएको र उनीहरुसँगै सल्लाह गरेर त्यही अनुसार व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताए । ‘सुदूरपश्चिममै घर भएकालाई आजै घरतर्फ पठाइनेछ,’ उनले भने, ‘टाढाको हकमा भने विभिन्न संघ संस्थाले बसोबास र खानाको व्यवस्था गरेका छन्, जाने अवस्था भए घरतिरै पठाइनेछ ।’ 

उद्धार गरिएकामध्ये चितवनका १०, कैलालीका ९, सुनसरीका ५, उदयपुर, तेह्रथुमका र पाँचथरका ४/४, दाङ, स्याङजा र बाँकेका ३/३ जना, ताप्लेजुङ, डोटी र धादिङका २/२ जना तथा सर्लाही, कास्की, रुकुम, बाग्लुंग, इलामा र रुपन्देहीका १/१ जना गरी ५७ जनाको उद्धार गरिएको हो । उनीहरु सबैलाई बुधबार यहाँ ल्याइएको किन इन्डिया नवीन जोशीले बताए । 

काशीपुरबाट ३५ जना र रुद्रपुरबाट २२ जनालाई उद्धार गरिएको हो । उनीहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर घरबाट बोलाइ जनही २३ हजार भारुसमेत जम्मा गर्न लगाएको थियो । त्यसपछि कोठामा राखेर खाना बस्न पनि राम्रो नदिने तथा बाहिर समेत निस्कन नदएिको अवस्थामा उद्धार गरिएको हो । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully