उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

आकर्षक रोजगारीको प्रलोभन दिँदै बोलाएर पैसा असुलेपछि बन्दी बनाउने र धम्क्याउँदै फेरि अरू नेपाली बोलाउन लगाउने धन्दा

असार ७, २०८२

राजेश मिश्र

Rescue of 35 Nepalis held hostage in Uttarakhand

काठमाडौँ — आकर्षक रोजगारीको प्रलोभन देखाउँदै बोलाएर भारतको उत्तराखण्ड प्रदेशस्थित उद्यमसिंह नगरमा बन्धक बनाइएका ३५ नेपालीलाई उद्धार गरिएको छ । दिल्लीस्थित सामाजिक संस्था ‘किन इन्डिया’ को टोलीले स्थानीय प्रहरीको सहयोगमा उनीहरूलाई उद्धार गरेको हो ।

‘किन इन्डिया’ का प्रमुख नवीन जोशीका अनुसार उद्यमसिंह नगर जिल्लाको काशीपुरबाट उद्धार गरिएकाहरू १६ देखि ४१ वर्षसम्मका छन् । उनीहरू दुई सातादेखि १० महिनासम्म बन्धक बनाइएका थिए । उनीहरू ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, सुनसरी, उदयपुर, सर्लाही, दाङ, स्याङ्जा, रुकुम, बाँके, बागलुङ र डोटी जिल्लाका छन् । कुटपिट गरिएका कारण उनीहरूको विभिन्न भागमा चोटपटक लागेको देखिएको छ ।

हिन्दुस्तान दैनिकका अनुसार ३५ नेपाली युवालाई कुटपिट गरेर र डरधम्की देखाएर तीनवटा कोठामा राखिएको थियो । उद्यमसिंह नगरका जिल्ला पुलिस अधीक्षक (एसपी) उत्तमसिंह नेगीले नेपाली नागरिकलाई बन्धक बनाएर राखिएको सूचना आएपछि उद्धार गरिएको बताए । यस आपराधिक कार्यमा नेपाली नागरिककै संलग्नता देखिएको समेत उनले बताए । ‘हामीले केहीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ कान्तिपुरसँग उनले भने । उद्यमसिंह नगर प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार त्यस घटनामा संलग्न देखिएका धनगढीका वीरेन्द्र शाही र अन्य दुई भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

रोजगारीको प्रलोभन दिएर नेपालबाट बोलाउने र पैसा असुल गरेपछि यातना दिएर राख्ने गरेको पाइएको प्रहरीले जनाएको छ । ‘किन इन्डिया’ का प्रमुख जोशीका अनुसार नेपालीलाई नै प्रयोग गरेर नेपालमा रहेका आफन्त तथा चिनेजानेका मानिसलाई आकर्षक आम्दानी हुने जागिर पाइने भन्दै उत्तराखण्ड बोलाउने गरेको देखिएको छ । भारत आइसकेपछि कागजात बनाउने नाममा २० देखि ५० हजार भारुसम्म उनीहरूबाट असुल गरिन्छ ।

त्यही समूहले काममा पठाउने प्रक्रिया भइरहेको भन्दै झुलाएर राख्ने र पछि डरधम्की देखाएर तिनै व्यक्तिबाट फेरि नेपालबाट थप मानिस सम्पर्कमा ल्याउन लगाउने गरेको पाइएको छ । ‘एक जनाबाट सकेसम्मको आर्थिक लाभ लिइसकेपछि उसलाई प्रयोग गरेर अर्को–अर्को व्यक्तिबाट पैसा उठाउने जालो बनाएर आपराधिक काम भइरहेको पाइएको छ,’ काशीपुरमा रहेका जोशीले भने ‘यहाँबाट भाग्न सफल युवाले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा उजुरी दिएपछि मात्र यसबारे थाहा भयो ।’

जिल्ला प्रशासनमा उजुरी दिएका युवाका अनुसार कपडा उत्पादन गर्ने कम्पनीमा हिसाब किताबको काम गर्ने भनेर चिनेजानेकै मानिसले उत्तराखण्ड बोलाएका थिए । ‘नेपालका विभिन्न जिल्लाबाट धेरै मानिस आएर काम गरिरहेका छन्, यस्तो मौका बारम्बार आउँदैन भन्दै हामीलाई बोलाइयो,’ निवेदनमा उल्लेख छ, ‘उत्तराखण्ड पुगेपछि कोठामा थुनेर नेपालबाट मानिस बोलाउन लगाउँदै शारीरिक र मानसिक यातना दिइयो ।’

सरकारी च्यानलबाट दिल्लीस्थित नेपाली दूतावासमा सूचना पुगेपछि दूतावासले ‘किन इन्डिया’ को सहयोग लिएको थियो । दूतावासले उत्तराखण्ड प्रहरीलाई समेत पत्राचार गरेको थियो । ‘दूतावास र उत्तराखण्ड प्रहरीको समन्वय र सहयोगमा ३५ नेपालीको उद्धार गरेका छौं,’ जोशीले भने, ‘अरू नेपाली पनि बन्धक बनाइएको सूचना छ, उनीहरूको उद्धारका लागि पनि प्रयास भइरहेको छ ।’ उनका अनुसार यातनाबाट ताप्लेजुङका २८ वर्षीय एक जनाको उत्तराखण्डमा मृत्यु भएको थियो ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully