गणेशमान सिंहको नामका योजनामा प्रश्न उठाएकोमा उपप्रधानमन्त्रीले भने- उहाँहरूको सम्मान गर्नु राष्ट्रको दायित्व हो

असार १०, २०८२

कान्तिपुर संवाददाता

The Deputy Prime Minister said that for raising questions on the plan named after Ganeshman Singh, it is the duty of the nation to respect him

काठमाडौँ — सहरी विकास मन्त्रालयका धेरै योजनामा गणेशमानसिंहको नाममा राखेको भन्दै संसद्मा प्रश्न उठाएकोप्रति उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आपत्ति जनाएका छन् । गणेशमान सिंह लगायत व्यक्तिहरू व्यक्ति मात्रै नभई राष्ट्रको प्रतिक रहेको उपप्रधानमन्त्रीको भनाइ थियो । 

सहरी विकास मन्त्रालयको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधिसभाको मंगलबारको बैठकमा जवाफ दिने क्रममा उपप्रधानमन्त्री सिंहले राष्ट्रका लागि योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्नुपर्ने बताएका हुन् । 

नेपालको लोकतान्त्रिक आन्दोलनमा भूमिका खेलेका व्यक्तिहरूको सम्मान राष्ट्रले गर्नुपर्ने उपप्रधानमन्त्री सिंहको भनाइ थियो । 'राणा र शाहरूको निरंकुश शासन कालमा यी स्वनामधन्य महापुरुषहरूको नाम लिनु पनि अपराध ठहरिन्थ्यो । लोकतन्त्रको पुनस्थापापछि मात्र राष्ट्रले उहाँहरूको प्रेरणादायी नाम स्मरण गर्न पाएको हो । देश र जनताका लागि जीवन अर्पेका महामानवप्रति कृतज्ञता अर्पण गर्न विगत देखि नै राज्यले उहाँहरूको नाममा केही विकास योजना कार्यान्वयन गर्दै आएको छ,' उपप्रधानमन्त्री सिंहले भने, 'यस वर्ष पनि ती स्वनामधन्य महामानवहरूप्रति कृतज्ञता स्वरुप केही योजनामा बजेट विनियोजन गरिएको हो । नागरिक भएकोमा गर्व गर्ने र रैती हुन नचाहने कसैलाई पनि लोकतन्त्रका नायकहरूको नामप्रति पक्कै द्वेष नहोला ।'

गणेशमान सिंह लगायतले राज्यलाई दिएको योगदान नेपाली जनताले तिर्न नसक्ने पनि उपप्रधानमन्त्री सिंहको भनाइ थियो । 'उहाँहरूको योगदानको ऋण त नेपाली जनताले तिर्न सक्दैनन् तैपनि कृतज्ञता व्यक्त गर्न त सक्छन् । उहाँहरू अब व्यक्ति नभई राज्यका प्रतिकका रुपमा रहनुभएकाले उहाँहरूको सम्मान गर्नु राष्ट्रको दायित्व हो,' उनले भने, 'उहाँहरूको सम्मान राष्ट्रको सम्मान भएकाले योजनाहरूमा उहाँहरूको नाम राखेर भावि पुस्तालाई प्रेरित गरिरहन सकिन्छ भन्ने माननीयहरूमा समेत अवगत भएकै कुरा हो भन्ने मलाई लाग्दछ ।'

सहरी विकास मन्त्रालयले बजेट विनियोजन गर्दा विभेद गरेको भन्दै सत्तारुढ दलका सांसदहरूले नै आलोचना गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully