मन्त्रालयका महत्त्वपूर्ण निकाय केन्द्रित भएकाले काठमाडौंमा बढी बजेट देखियो : उपप्रधानमन्त्री सिंह

असार १०, २०८२

कान्तिपुर संवाददाता

More budget was seen in Kathmandu as the important bodies of the ministry were concentrated: Deputy Prime Minister Singh

काठमाडौँ — उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा मन्त्रालयको बजेट बढी देखिनुको कारण संसद्मा राखेका छन् । उनले मन्त्रालयका अधिकांश ठूला निकाय काठमाडौं उपत्यकामा रहेकाले यहाँ बढी बजेट भएको देखिएको बताए । 

सांसदहरूले सहरी विकास मन्त्रालयको बजेटमाथि छलफलका क्रममा उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री सिंहले ठूला निकाय काठमाडौं केन्द्रित हुँदा यहाँ बढी बजेट देखिएको बताए ।

'सहरी विकास मन्त्रालयअन्तर्गतका महत्त्वपूर्ण निकायहरू जस्तै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयबाट संचालन हुने कार्यक्रमहरू काठमाडौं उपत्यका केन्द्रित रहेकोले काठमाडौं उपत्यकामा अन्य क्षेत्रभन्दा केही बजेट बढी देखिन गएको हो,' उनले भने ।  

उपप्रधानमन्त्री सिंहले राष्ट्रिय सहरी विकास रणनीति अनुरुपका मुख्य सहरी आर्थिक करिडोरका रूपमा रहेको इटहरी-दमक-काँकडभिट्टा, बुटवल-भैरहवा, भीमदत्त-अत्तरिया- धनगढीक्षेत्रअन्तर्गत पूर्वाधार विकासमा बजेट विनियोजनलाई प्राथमिकता दिएको बताए । उनले सम्पूर्ण क्षेत्रमा मन्त्रालयलाई प्राप्त सिलिङको परिधिभित्र रहेर भौगोलिक तथा जनसांख्यिक अनुपातका आधारमा प्रादेशिक सन्तुलनसमेत कायम हुने गरी बजेट विनियोजन गरिएको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully