काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद, सहिदहरूको बलिदान, प्रणाली र संविधानको अपमान सैह्य नहुने बताएका छन् । विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको मंगलबारको प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संविधानको अपमान सैह्य नहुने बताएका हुन् ।
आफूलाई व्यक्तिगत आलोचना, अपमान र गाली सैह्य हुने तर संविधानप्रतिको अपमान सैह्य नहुने प्रधानमन्त्रीको भनाइ थियो । उनले संसद्मा संविधान र प्रणालीप्रतिको अपमान सहन नसकिने बताएका हुन् ।
संसद्मा संविधान र प्रणालीको विरोधलाई सहन नहुने पनि प्रधानमन्त्रीको भनाइ थियो । 'यस प्रणाली, संविधानको रक्षा गर्नु, संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा विकास र सुशासन गर्नु सरकारले कर्तव्य हो, यस कुरामा कुनै सम्झौता गर्दैन,' उनले भने, 'म आफूलाई कसैले आलोचना गरोस्, गाली गरोस्, विरोध गरोस् सहन्छु तर सहिदप्रतिको अपमान, सहिदले दिएको बलिदानको अपमान, विगतका संघर्ष र बलिदानप्रतिको अपमान, प्रणालीको अपमान, संविधानको अपमान, यो कुरा सैह्य हुन सक्दैन ।'
संविधान र प्रणालीको अपमान गर्ने कुरा संसद्ले सहन नहुने पनि प्रधानमन्त्रीको भनाइ थियो । 'संसद् प्रणालीभित्रबाट क्रियाकलाप गर्ने ठाउँ हो । बलिदानको धज्जी उडाउने, प्रणाली विपरीत, संविधान विपरीत, कानुन मान्न नपर्ने, जसो पायो त्यसो गर्ने थलो संसद् हुनु भएन,' प्रधानमन्त्री ओलीले भने ।
नेपाली जनताले संघर्ष गरेर संविधान ल्याएको बताउँदै त्यसमा कमजोरी देखिए संशोधन गर्न सकिने पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । 'हामीले ठूलो संघर्ष गरेर वर्तमान संविधान ल्याएका छौं । कमिकमजोरी छन् भने व्यवहारले देखाएका ठाउँमा यस प्रणालीलाई मजबुद बनाउने गरी, लोकतन्त्रलाई मजबुद बनाउने गरी संविधान संशोधन गरौं । संविधानको संशोधन विकास अगाडि बढाउने, देशलाई एकताबद्ध बनाउने गरी गरौं,' उनले भने, 'तर मनोवैज्ञानिक ढंगले देशलाई विभाजित गर्ने गरी होइन । राष्ट्रिय एकता कायम गर्ने गरी, लोकतन्त्रलाई मजबुद, संविधानलाई बलियो बनाउने गरी संविधान संशोधन गरौं ।'
