इरानबाट भारतको उद्धारमा २ नेपाली दिल्ली आइपुगे

नेपाली दूतावासका अनुसार बुटवलका गणेशप्रसाद पोखरेल र सुमन गैरे दिल्लीबाट नेपालका लागि उडिसकेका छन् 

असार १०, २०८२

कान्तिपुर संवाददाता

2 Nepalis arrived in Delhi to rescue India from Iran

काठमाडौँ — इरानबाट उद्धार गरिएका २ जना नेपाली नागरिक भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन् । नेपाल सरकारको अनुरोधमा भारतले आफ्ना नागरिकसँगै नेपाली नागरिकको पनि उद्धार गरेको हो ।  

नयाँदिल्लीस्थित नेपाली राजदूतावासका अनुसार गणेशप्रसाद पोखरेल र सुमन गैरे मंगलबार दिउँसो नयाँदिल्ली आइपुगेका छन् । दूतावास र भारतीय विदेश मन्त्रालयले उनीहरूलाई विमानस्थलमा 'रिसिभ' गरेका थिए । दूतावासका अनुसार दुवै जना काठमाडौंका लागि उडिसकेका छन् । दुवै जना बुटवलका रहेको पनि दूतावासको भनाइ छ । 

इरानबाट ११ जना नेपाली नेपाल आउन लागेकोमा पहिलो चरणमा दुई जनाको उद्धार गरिएको हो । सबैजना आइतबार राति नै तेहरानबाट मसद पुगिसकेका छन् । इरानमा रहेका नेपालीहरू विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा काम गर्दै आएका थिए ।

दूतावासले भारतीय विदेश मन्त्रालय र तेहरानस्थित भारतीय दूतावासलाई सहयोगका लागि धन्यवादसमेत दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवालका अनुसार इरानको मसदबाट विशेष विमानमार्फत २ सय ८१ भारतीय, ३ श्रींलकाली र २ जना नेपालीको उद्धार गरिएको हो । उक्त विमान भारतीय समयअनुसार दिउँसो ३ बजे दिल्लीमा अवतरण भएको थियो । उद्धार गरिएका सबैको स्वागतका लागि भारतीय विदेश राज्यमन्त्री पबित्रा मार्गेरिटा विमानस्थल पुगेका थिए ।

'अपरेसन सिन्धू' नाम दिइएको उद्धार अभियानमार्फत भारतले अहिलेसम्म २ हजार ५ सय ७६ भारतीय नागरिकलाई स्वदेश ल्याइसकेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully