काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सोबिता गौतम र हरि ढकालले भारतका पूर्वउपराष्ट्रपति एम वेंकैया नायडूसँग भेट गरेका छन् । भारत भ्रमणमा रहेका बेला सांसदद्वय गौतम र ढकालले आइतबार भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता गरेका हुन् ।
भारतका पूर्वउपराष्ट्रपति नायडू भारतीय जनता पार्टीका नेता हुन् । प्रवासी नेपाली सम्पर्क मञ्च, भारतअन्तर्गत कर्नाटक राज्य समिति घोषणा सभामा सहभागी हुन भारत गएका बेला रास्वपाका सांसदद्वयले आइतबार नायडूसँग भेटवार्ता गरेका हुन् ।
भेटमा नेपाल र भारतको जनताबीचको सम्बन्धबारे छलफल भएको सांसद गौतमले जानकारी दिएको छ । 'भेटका क्रममा भएको संवादमा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयामहरू तथा दीर्घकालीन संरचित समन्वय आवश्यकताका विषयहरू केन्द्रमा रहे । सो अवसरमा हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको मूल दृष्टिकोण, राजनीतिक उद्देश्य र अभियानका बारेमा समेत संक्षिप्त जानकारी गरायौँ,' सांसद गौतमले उल्लेख गरेकी छन् ।
उक्त भेटवार्ताले क्षेत्रीय सहकार्य, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याउने विश्वास रहेको सांसद गौतमको भनाइ छ ।
नायडू सन् २००२ देखि २००४ सम्म भाजपाका अध्यक्ष पनि थिए ।
