काठमाडौँ — रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले कार्यान्वयन गरिरहेको काठमाडौं–तराई मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)को प्रगति ४१ प्रतिशत पुगेको जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि सांसदले छलफलमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री राईले उक्त जवाफ दिएका हुन् ।
उपत्यका बाहेक तराईका जिल्लाहरूमा द्रुत मार्गका लागि जग्गा लिने प्रक्रिया सकिएको उल्लेख गर्दै मन्त्री राईले अबको केही महिनाभित्रै उल्लेख्य प्रगति हुने बताए । ‘काठमाडौं–तराई मधेस जाने फास्ट ट्र्याकको लगभग ४१ प्रतिशत काम सकिएको छ । सम्भवतः अबको केही महिनाभित्र त्यसको उल्लेख्य प्रगतिमा हामी पुग्नेछौँ । म के जानकारी गराउन चाहन्छु भने काठमाडौं बाहिरको तराईका सबै क्षेत्रको जमिनहरु लिने काम सबै सकिएको छ । यसका सबै प्रक्रियाहरू समाप्त भएको छ,' उनले भने, 'त्यसैले अब जमिनको बारेमा विवाद आउला भन्ने कुरा समाप्त भएको छ ।’ सरकारले २०७४ सालमा नेपाली सेनाको जिम्मा लगाएको द्रुत मार्ग ८ वर्षमा ४१ प्रतिशत मात्र प्रगति रहेको छ ।
त्यस्तै, जलविद्युत निर्माण सेनाले नगर्ने तर जलविद्युतको सुरक्षा भने दिने मन्त्री राईले जानकारी दिए ।
