सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत

असार ९, २०८२

कान्तिपुर संवाददाता

Jaspa Nepal's signal to withdraw its support to the government

काठमाडौँ — जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ। पार्टी केन्द्रीय समितिको बैठकले सरकार पूर्णत: असफल रहेको निष्कर्ष निकाल्दै सरकारलाई दिएको समर्थन बारे पुनः विचार गर्ने निर्णय गरेको हो। पार्टीले त्यसबारे आवश्यक निर्णय लिने संसदीय दललाई निर्देशन गरेको छ। 

पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतमा असार ७ र ८ गते काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले त्यस्तो निर्णय लिएको पार्टी प्रवक्ता मनिषकुमार सुमनले बताए।

केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकार देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूती, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यहरूमा पूर्णतः असफल रहेको पार्टी बैठकको निष्कर्ष रहेको सुमनले जानकारी दिए। पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– ‘पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थन बारे पुनः विचार गरी निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ।’ 

जसपा नेपालले ओली सरकारलाई बाहिरबाट समर्थन गरेको छ । सरकरमा सहभागी भने छैन । जसपाको प्रतिनिधिसभामा ५ र राष्ट्रियसभामा ३ सांसद छन् । सरकारलाई समर्थन दिने निर्णय संसदीय दलबाट भएकाले थप निर्णय पनि त्यहीँबाट लिने गरी पार्टीले निर्देशन गरेको सुमनले बताए।

कान्तिपुर

Link copied successfully