काठमाडौँ — ऊर्जामन्त्री दीपक खड्काले बजेट संशोधन गर्नका लागि अर्थमन्त्रालयलाई पत्र पठाएको संसद्लाई जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयको विनियोजनमाथि छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले जलविद्युत क्षेत्रमा 'टेक एन्ड पे' लाई संशोधन गरी 'टेक अर पे' बनाउन पत्र पठाएको जानकारी दिए ।
जलविद्युत प्रवर्द्धक र सांसदले सरकारले ल्याएको नयाँ नीतिको विरोध गरेपछि ऊर्जा मन्त्रालयले नै अर्थ मन्त्रालयलाई बजेटमा संशोधन गर्न पत्र पठाएको जानकारी दिएका हुन् । 'टेक एन्ड पेको विषय चर्चामा छ । सांसदहरूको प्रश्न पनि अलि बढी केन्द्रित भएको थियो । नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त राय सुझाव समेतको आधारमा १० मेगावाटसम्म साना जलविद्युत आयोजनाका साथै विद्युत् खपत वा निर्यात सुनिश्चित भएका ठूला रन अफ रिभर आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता टेक अर पे प्रावधान नै गर्न उपयुक्त हुने भएकोले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेठ २७ को पत्रमार्फत संशोधन गरी अर्थ मन्त्रालयमा अनुरोध गरेर पठाएको ब्यहोरा जानकारी गराउन चाहन्छु,' मन्त्री खड्काले भने ।
मन्त्री खड्काले बजेट वक्तव्यमा आएको विषयलाई संशोधन गरिने बताए । 'यो बजेट वक्तव्यका क्रममा आएको थियो । अर्थमन्त्रीसँग पनि यसका विषयमा पर्याप्त छलफल भइसकेको छ । यसका विषयमा संशोधन भएर अगाडि बढ्ने कुरामा मन्त्रालयले र मैले विश्वास लिएको कुरा जानकारी गराउन चाहन्छु,' उनले भने ।
