९ पटक बगिसक्यो विनयी खोलाको डाइभर्सन

असार ९, २०८२

नारायण शर्मा

Diversion of Vinayi Khola has flowed 9 times

काठमाडौँ — आइतबार निर्माण गरेर यातायात सञ्चालन गरिएको दुम्कीबासस्थित बिनयी खोलाको डाइभर्सन बाढीले फेरि बगाएको छ ।

आइतबार त्यहाँबाट करिब २ सय गाडी वारपार गराइएको थियो । तर खोलामा आएको बाढीले आइतबार राति नै डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका इन्स्पेक्टर राजन तिमिल्सिनाले बताए । उनका अनुसार यो डाइभर्सन ९ पटक बगिसकेको छ । 'खोलामा बाढी आउँछ, बगाउँछ,' उनले भने, 'फेरि बनायो, फेरि बगाउँछ । हैरान भइयो ।'

गत पुस २६ गते दुम्कीबासस्थित विनयी खोलाको फलामे पुल भाँच्चिएपछि त्यही पुलको उत्तरतर्फबाट डाइभर्सन निर्माण गरेर आउजाउ गराइँदै आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबारसम्म यो डाइभर्सन ९ पटक बग्दा ५७ लाख खर्च भइसकेको छ ।

असार ३१ बाट नयाँ पुल

दुम्कीबासमा निर्माण गरिएको नयाँ पक्की पुलमा असार ३१ गतेबाट यातायात सञ्चालन गर्ने तयारी छ । चिनियाँ ठेकदारले असार ३१ गतेदेखि नवनिर्मित पुलबाट गाडी चलाउन मिल्ने भनेर पत्राचार गरेको सडक आयोजना पूर्वी खण्डकी प्रमुख अनुच्छा घिमिरेले बताइन् ।

यो पुलबाट यातायात सञ्चालनमा नआउन्जेल डाइभर्सनकै भरपर्नुपर्नेछ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully