७३ जिल्लामा डेंगी, १४०० संक्रमित

काठमाडौंमा सबैभन्दा बढी १५६ संक्रमित

असार ९, २०८२

प्रशान्त माली

Dengue, 1400 infected in 73 districts

काठमाडौँ — मुलुकभर डेंगी संक्रमितको संख्या १ हजार ४ सय नाघेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगी संक्रमितको संख्या ६ महिनामा (जनवरीयता) १ हजार ४ सय ३ पुगेको छ भने संक्रमण ७३ जिल्लामा फैलिएको छ । 

रसुवा, मनाङ, हुम्ला, डोल्पाबाहेक बाँकी ७३ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । गत साता मात्र थप ४० जनामा संक्रमण पुष्टि भएको छ । डेंगी संक्रमित सात प्रदेशमध्ये सबैभन्दा बढी बागमतीमा ३ सय ७१ जना, कोशीमा २ सय ९९, गण्डकीमा २ सय ५१, लुम्बिनीमा २ सय ४५, सुदूरपश्चिममा १ सय ८४ जना, कर्णालीमा ३२ जना र मधेशमा २१ जना रहेको ईडीसीडीले जनाएको छ । काठमाडौंमा सबैभन्दा बढी १ सय ५६ जना संक्रमित भेटिएका छन् । 

काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार डेंगी पुष्टि भएर भर्ना भएका ६ जना बिरामी उपचार गराएर फर्किएका छन् । अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले ओपीडीमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा संक्रमण देखिएको बताए । ‘हरेक दिन एक/दुई जना डेंगी संक्रमित उपचारका लागि आउने गरेका छन्, सँगै मौसमी रुघाखोकीको उपचार गराउन आउने बिरामीको संख्या पनि त्यस्तै छ,’ उनले भने ।

 गत वर्ष डेंगी संक्रमित ३४ हजार नाघेको थियो । १३ को संक्रमणबाट मृत्यु भएको थियो । २०८० मा देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको थियो । २० जनाको मृत्यु भएको थियो भने सन् २०१९ मा महामारीका रूपमा फैलिएको थियो । मुलुकमा डेंगी निरन्तर देखा पर्न थालेको २२ वर्ष बित्यो । आर्थिक वर्ष २०६०/६१ मा पहिलो पटक एक जनामा डेंगी संक्रमित भेटिएको थियो ।

उच्च ज्वरो आउने, टाउको, घाँटी, आँखाको गेडी दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने डेंगीका प्रमुख लक्षण हुन् । तर, सहरी क्षेत्रमा डेंगीको लक्षण देखिए पनि धेरैजसो बिरामीले परीक्षण नगराउने तर, जीउ, ढाड, टाउको दुखेको छ भन्दै सिटामोल खाने गरेको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ ।

‘अहिले सहरी क्षेत्रमा बसोबास गर्ने प्रायः डेंगीबारे जानकार छन् । तर, समयमै परीक्षण गराउने बानी छैन । आफैंले सिटामोल किनेर घरमै बस्ने गरेका छन्,’ उनले भने, ‘जसले गर्दा धेरै ढिलो हुने जोखिम पनि छ ।’ 

संक्रमणको लक्षण देखिएकामा नाक, गिजाबाट रक्तश्राव हुने, महिलामा महिनावारी हुँदा जस्तै रगत बग्ने, पेट असाध्यै दुख्ने, तारन्तर बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट, खुट्टा सुन्निने जस्ता लक्षण देखा परेमा उपचारका लागि तत्काल अस्पताल पुग्नुपर्ने डा. पुनको सुझाव छ । ‘त्यस्ता बिरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने हुन सक्छ । यदि बिरामीको एक्स–रे गर्दा पेट र छातीमा पानी जमेको, कलेजो सुन्निएको, रगतमा प्लेटलेट तीव्र गतिमा कम भएमा डेंगीको जटिल संक्रमणको लक्षण भएको बुझ्नुपर्छ,’ उनले भने, ‘यस्ता व्यक्तिको समयमा उपचार नभएमा ज्यानसमेत जान सक्ने खतरा हुन सक्छ ।’ उनले बिरामीमा कहिलेकाहीं डेंगीको जटिल लक्षण देखा नपर्न पनि सक्ने बताए । ‘यसप्रति पनि बिरामीले विशेष ध्यान दिन जरुरी छ ।’

विज्ञहरूका अनुसार डेंगी भाइरस एडिस जातको लामखुट्टेमार्फत फैलिने गर्दछ । एडिस लामखुट्टे विशेषतः बिहान र बेलुकी सूर्यास्त हुनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला संक्रमण बढी सार्छ । यो जातको लामखुट्टेले सफा जमेको थोरै पानीमा फूल पार्ने भएकाले पानी जन्म नदिन र सरसफाइमा विशेष ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ । 

ईडीसीडीका डेंगी फोकल पर्सन गोर्कण दाहालका अनुसार संक्रमण फैलिन थालेपछि सबै स्थानीय तहलाई ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउन पत्राचार भइसकेको छ । ‘चालु आर्थिक वर्षको ७ करोड ९६ लाख रुपैयाँ बजेटमध्ये डेंगी संक्रमित संख्याका आधारमा पालिकालाई ५० हजार रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म विनियोजन गरिएको छ । डेंगी जाँचका लागि सरकारी स्वास्थ्य संस्थामा ७५ हजार डेंगी परीक्षण किट वितरण गरिसकेका छौं,’ उनले भने, ‘तर, डेंगी नियन्त्रण सरकारबाट मात्र सम्भव छैन । स्थानीय तह, टोल विकास समिति, क्लब र घरधनीहरूले डेंगी लामखुट्टे नियन्त्रणका लागि सरसफाइमा विशेष ध्यान दिन जरुरी छ ।’

प्रशान्त

Link copied successfully