लतिलपुर — प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरुले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिए।
'अहिले युवा संघको काँधमा असाधारण जिम्मेवारी रहेको छ। आगामी स्थानीय तहको निर्वाचनसम्म यस कमिटीको नेतृत्व रहन्छ। संघको नेतृत्वले आफ्नो कार्यकालका लागि सिङ्गो योजना बनाओस् । नयाँ इतिहास कायम राखोस् । असाधारण सक्रियताका साथ काम गरोस्,' अध्यक्ष ओलीले भने, 'यसले सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध सङ्गठनका रुपमा उभ्याओस् । वैचारिक हिसाबले स्पष्ट र साङ्गठनिक हिसाबले सुदृढ तथा आवश्यकता परेका बेला देश र पार्टीका पक्षमा जुझारुरुपमा आन्दोलन गर्न सक्ने योजना होस् । विपक्षीहरूले फैलाएका भ्रमपूर्ण प्रचारको खण्डन गरोस् । सही बाटोका पछि लागोस् । व्यक्तिका पछि होइन ।'
अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरू असहिष्णु हुनुहुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरू विश्वमा युवाहरूले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आह्वान गरे।
'युवाहरू सही बाटोमा अघि बढेमा देश सही बाटोमा अघि बढ्छ । युवाहरूलाई भ्रममा पार्न वा शिथिल पार्ने काम भएमा परिवर्तन र अग्रगमन सुुस्त गतिमा अगाडि बढ्न पुग्छन् । युवाहरूलाई उद्यमशीलतातर्फ कसरी अगाडि बढाउने भन्नेमा हामी लाग्नुपर्छ,' उनले भने, 'उही नेता कहिले कहिले आवश्यकताले दोहोरिन्छ । कहिले एक पटकमै उसको परीक्षणबाट असफल हुन्छ । हामीले पार्टीमा ठिक नेतृत्व नपाउँदा आन्दोलन रुमलियो । जनताको बहुदलीय जनवाद (जबज) पारित भएपछि पनि तत्काल सही नेतृत्व पाएनौँ । जब सही नेतृत्व पायौँ, त्यसपछि पार्टीलाई सुस्पष्ट र मजबुद बनाएर अघि बढ्यौँ ।'
