अपराधी गिरोहसँग सरकारको साँठगाँठ रहेको रास्वपा सांसद नेपालीको आरोप

असार ९, २०८२

कान्तिपुर संवाददाता

Allegation of Nepali RASWP MP that the government has collusion with criminal gangs

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा मानव तस्करीको सञ्जाल नेपालभित्रै बसेर राज्य संरक्षकहरूको मिलेमतोमा सञ्चालन भइरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद नेपालीले सक्रिय मानव तस्कर र्‍याकेटलाई राज्यले संरक्षण गरिरहेको आरोप लगाए । उनले मानव तस्करीजस्तो जघन्य अपराधमा सरकार निरन्तर मौन रहेको टिप्पणी गर्दै 'के जनताको मुद्दा उठाउनु अपराध हो ?' भन्दै प्रश्न गरे । उनले मानव तस्करी केवल कानुनी अपराध मात्र नभई मानवताको गम्भीर अपमानसमेत भएको टिप्पणी गर्दै छानबिन समिति गठन गर्न माग गरे ।

उनले भने, 'सभामुख महोदय, के जनताको मुद्दा उठाउनु अपराध हो ? सरकारहरू फेरिन्छन्, मन्त्रीहरू फेरिन्छन्, तर मानव तस्करहरू सधैँ उन्मुक्त किन हुन्छन् ? मानव तस्करजस्तो जघन्य र अन्तर्राष्ट्रिय अपराध आज विकराल रूपमा उजागर भएको छ । भिजिट भिसाको नाममा मानव तस्करी गर्नु अपराध मात्र होइन, यो मानवताको घोर अपमान हो । यो र्‍याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा सञ्चालित देखिन्छ । यस्तो अपराधमा पनि दुई ठूला दलको सरकार किन मौन छ, सभामुख महोदय ? यो सरकारको अपराधी गिरोहसँग कुनै साँठगाँठ त छैन ?'

राष्ट्रिय स्वतन्त्र पार्टीले गत १३ जेठदेखि भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै संसद्मा विरोध गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully