सबै एयरपोर्ट सञ्चालन र नयाँ निर्माणका माग पूरा गर्न ५० अर्ब बजेट चाहिन्छ : मन्त्री पाण्डे

'कोहीले बजेट माग्‍ने र कसैले दिनजस्तो प्रवृत्ति देखिएको छ, यो प्रवृत्ति अन्त्य गर्दै योजना निर्माणमा सबै क्षेत्र र समुदायको सहभागिता र प्राथमिकीकरण गर्दै बजेट विनियोजन गर्ने पटीपाटी रोज्‍नुपर्छ'

असार ९, २०८२

कान्तिपुर संवाददाता

50 billion budget is needed to meet the demands of all airport operations and new construction: Minister Pandey

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निर्माण भएका विमानस्थल सञ्चालन गर्न तथा नयाँ विमानस्थलसम्बन्धी माग पूरा गर्न ५० अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बताएका छन् ।

मन्त्रालयको विनियोजनमाथि छलफलका क्रममा सांसदले उठाएका प्रश्नको प्रतिनिधिसभाको सोमबारको बैठकमा जवाफ दिने क्रममा मन्त्री पाण्डेले बजेट र मागबीच ठूलो अन्तर रहेको बताएका हुन् । 

स्रोतको सीमितताका कारण धेरै योजना समेट्न नसकिएको मन्त्री पाण्डेको भनाइ थियो । मन्त्रालयले निर्माण गरेको बजेट तोकिएको सिलिङभित्रै सीमित राखिएको उनले बताए । मन्त्रालयअन्तर्गत निर्माणाधीन सबै योजनालाई अधुरो नराख्ने गरी बजेट विनियोजन गरिएको उनको भनाइ थियो ।

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमको सेवालाई प्रभावकारी बनाउनको लागि नीतिगत सुधारका काम भइरहेको जानकारी दिए । ‘बजेट निर्माण प्रक्रिया सुरु हुँदै गर्दा अर्थ मन्त्रालयले तोकेको सिलिङबाट बजेट बनाउँदाखेरी जम्मा २५/३० करोडको आकार थियो । अर्थ मन्त्रालयको निर्देशन, अर्थ मन्त्रालयको नीति र मापदण्ड पाएकै थियौँ । तीन करोडभन्दा साना योजना बनाउन नमिल्ने मापदण्ड थियो । जसले गर्दा हामीले आठ/दश वटा कार्यक्रम बनाउन मिल्ने मात्रै हाम्रो सामर्थ्य थियो,' पाण्डेले भने, 'मन्त्रालयअन्तर्गत तीन करोडभन्दा कम लागतका योजनासमेत परेका छन् । हामीले क्रमागत योजना कहिँ पनि छुटाएका छैनौँ । तिनलाई अधुरो नराख्नेगरी बजेट विनियोजन गरेका छौँ । बजेट निर्माणका क्रममा सीमित स्रोत र साधन तथा पपर्यटकीय क्षेत्रको सुधारका लागि बजेट विनियोजन गरिएको छ ।'

निर्माण भएका विमानस्थल सञ्चालन र नयाँ निर्माणका लागि ठूलो रकम लाग्ने गरी माग भइरहेको पाण्डेको भनाइ थियो । 'उड्डयन क्षेत्रको कुरा गर्ने हो भने सबै एयरपोर्ट र बन्नुपर्ने नयाँ एयरपोर्टका मागहरु सम्बोधन गर्ने हो भने हामीलाई ५० अर्बभन्दा बढी बजेट चाहिन्छ । त्यसकारण स्रोतको सीमितताका कारण बजेट बनाउने काम चुनौतीपूर्ण थियो,’ मन्त्री पाण्डेले भने । 

बजेट माग्ने र दिने नभई सबैको सहभागितामा योजना बनाउने परिपाटी स्थापित गर्नुपर्ने मन्त्री पाण्डेको भनाइ थियो । उनले भने, 'हामीले अहिले निकै सकसपूर्ण रुपमा बजेट बनाएका छौं । हामीले कोहीले बजेट माग्‍ने र कसैले दिनजस्तो प्रवृत्ति देखिएको  छ । यो प्रवृत्ति अन्त्य गर्दै योजना निर्माणमा सबै क्षेत्र र समुदायको सहभागिता र प्राथमिकीकरण गर्दै बजेट विनियोजन गर्ने परिपाटी रोज्‍नुपर्ने म ठान्दछु ।'

कान्तिपुर

Link copied successfully