उपप्रधानमन्त्री सिंहलाई एमाले सांसद थापाको प्रश्न : पिताजीको नामका योजनाबाट देश अगाडि बढ्छ ?

असार ८, २०८२

कान्तिपुर संवाददाता

UML MP Thapa's question to Deputy Prime Minister Singh: Will the country move forward with the plan named after father?

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद सूर्यबहादुर थापाले कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको चर्को आलोचना गरेका छन् ।

सहरी विकास मन्त्रालयको बजेट विनियोजनलाई लिएर थापाले उपप्रधानमन्त्री सिंहमाथि आक्रोश व्यक्त गरेका हुन् । प्रधानमन्त्रीलाई मन्त्रीहरूको मूल्यांकन गर्न पनि थापाले आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सासद थापाले सहरी विकास मन्त्रालय सबैभन्दा अस्तव्यवस्त रहेको र एक हजारदेखिका योजना अगाडि सारेको भन्दै आपत्ति जनाए । उपप्रधानमन्त्री सिंहले सांसदले सिफारिस गरेका योजनामा विनियोजन नगरेको तर आफ्ना बुबाका नाममा बजेट राखेको भन्दै आपत्ति जनाए । 

उपप्रधानमन्त्री सिंह र कांग्रेसका मन्त्रीले संयुक्त सरकार भएको बिर्सिएको पनि एमाले सांसद थापाले आपत्ति जनाए । 'सहरी विकास मन्त्रालयको बजेट हेर्छु त गणेशमान सिंहको सम्मानमा केही-केही जिल्लामा केही-केही छरिएको रकममा खोज्न खोजिएको पाए । प्रकाशमान सिंह उहाँको छोरा हुनुहुन्छ भनेर साथीहरूले सुनाउनुभयो, हुनुहुन्छ कि हुनुहुन्न मलाई थाहा छैन तर झन्डै ७५ करोड रकममा गणेशमान सिंहको सम्मानलाई साट्ने ढंगको जुन विनियोजन भएको छ यो गतल भएको छ । यो खालको गर्नु गलत भएको छ,' थापाले भने, 'सहरी विकास मन्त्रालय आज सबैभन्दा लथालिंग र अस्तव्यवस्त मन्त्रालय देखिएको छ । जनताको जीवनस्तर उठाउनेतितर ध्यान गएको छैन । स-साना टुक्रा र नेताको अझ आफ्ना पिताजीको, बजारमा त्यो पनि चर्चा पनि छ है, नामका योजनाबाट देश अगाडि बढ्छ ?'

गणेशमान सिंहको अपमान हुने ढंगले सहरी विकास मन्त्रालयले बजेट विनियोजन गरेको भन्दै सांसद थापाले आपत्ति जनाए । 'सांसदको सिफारिसका योजना आफ्नो मन्त्रालयको कार्यक्रममा पार्नुहुन्न । नेविसंघ र तरुण दल खोज्दै हिँड्नुहुन्छ भने उपप्रधानमन्त्रीज्यू, यसले कुनै परिणाम निकाल्दैन । तपाईंको बजेट विनियोजनलाई सत्तापक्षका सांसदहरूले भन्नुभयो मैले पनि भन्छु स्वतन्त्र एकेडेमिक व्यक्तिहरूबाट रिभ्यू गराउने हैसियत राख्नुहुन्छ ? म चुनौती दिन चाहन्छु, यो खालको स्थिति छ,' उनले भने ।

बजेट निर्माणका क्रममा ३ करोडभन्दा कमका योजना नराख्ने भनेपनि कांग्रेसले नेतृत्व गरेका मन्त्रालयहरूले नमानेको सांसद थापाको आपत्ति थियो । '३ करोड भन्दा कमका योजना स्वीकार गर्न नपर्ने हो । सहरी विकास मन्त्रालयमा एक हजारदेखिका योजना छन् । यो केका लागि हो ? यो के जग हसाइँ हो ? सहरी विकास मन्त्रालय, पर्यटन, खेलकुद, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय यो हविगत हो ? के हैसियत प्रदर्शन गरेको हो ? सरकारको, प्रधानमन्त्रीको, अर्थमन्त्रीको, योजना आयोगको सिलिङको सीमा लागु हुन नपर्ने यो कस्तो तरिका हो ?,' थापाले प्रश्न गरे । 

कांग्रेसबाट मन्त्री भएकाहरूले संयुक्त सरकार हो भन्ने बिर्सिएको पनि थापाको आक्रोश थियो । 'यो संयुक्त सरकार हो भन्ने अनुभूति गर्नुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीको पार्टीकाले, प्रधानमन्त्री र अर्थमन्त्रीले भनेको मान्नुपर्ने, अरु चाहिँले मान्नु नपर्ने त्यस्तो हुन्छ ? सिलिङ त सबैका लागि होला नि त, देशका लागि होला नि त । यो बेहालको स्थिति छ,' उनले भने ।

सत्तापक्षका सांसदले नै संसद्मा आक्रोश व्यक्त गर्नुपर्ने र निराशा पोख्नुपर्ने अवस्था रहेको भन्दै सांसद थापाले आपत्ति जनाए । 'आज हामी सत्ता पक्षमा छौं तै पनि रोनाधोना गरिरहेका छौं । विपक्षमा हुने साथीहरूले त्यै खालको गरिरहनुभएको छ । हिजो सत्ता पक्षमा हुँदा मन्त्री हुँदा सन्तुलित ढंगले विनियोजन गर्नुभएन भनेर हामीले आलोचना गरेकै मन्त्री यहाँ रोष्ट्रममा आएर आज हामीले जस्तै बोलिरहनुभएको छ । विपक्षमा रहेका सांसदले जस्तै बोलिरहनुभएको छ । नियतीमा हामीले समाधान नखोजौं, नियतमा समाधान खोजौं,' उनले भने । 

खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट लगेको र एमालेले जितेका पालिकामा चालु योजनामा पनि बजेट विनियोजन नगरेको सांसद थापाको भनाइ थियो ।           

कान्तिपुर

Link copied successfully