निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म बजेट बदलिँदैन : शाही

असार ८, २०८२

कान्तिपुर संवाददाता

The budget will not change unless the electoral system is changed: Shahi

काठमाडौँ — प्रमुख प्रतिपक्षी माओवादीका सांसद महेन्द्रबहादुर शाहीले सही बजेट विनियोजन हुने वातावरण बनाउनका लागि निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् । वर्तमान निर्वाचन प्रणालीमा सांसदहरू मन्त्री बन्ने र उनीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गर्दा समस्या भएको शाहीको भनाइ थियो । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा सांसद शाहीले निर्वाचन प्रणाली नबदलीकन बजेट नबदलिने बताए ।

चुनावमा जाँदा सांसदले विद्यालय बनाउँछु, सडक बनाउँछु, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकास, गरिबीको अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने विकास निर्माणका तमाम विषय पूरा गर्छौं भनेर जनताबाट निर्वाचित भएर आएका हुने तर बजेट नपर्ने समस्या रहेको बताए । 

बजेटप्रति सत्ता र प्रतिपक्षका सांसद सन्तुष्ट नभएको शाहीको भनाइ थियो । ‘यो निर्वाचन प्रणाली नै बदलौँ । निर्वाचन प्रणाली नबदलीकन बजेट बदलिँदैन । यो परम्परागत भइरहन्छ । किनभने यो बजेट बनाउने दबाब त्यही हो । सरकारलाई आउने दबाब भनेकै निर्वाचन प्रणालीकै दबाब हो । चुनावमा जाँदा सांसदहरूले विद्यालय बनाउँछु, सडक बनाउँछु, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार विकास, गरिबीको अन्त्य गर्ने, रोजगारी सिर्जना गर्ने विकास निर्माणका तमाम विषयहरु पूरा गर्छौं भनेर जनताबाट निर्वाचित भएर आएका सांसद हुन्,' शाहीले भने‍ ।

बजेटप्रति प्रतिपक्षभन्दा पनि बढी असन्तुष्टि सत्ता पक्षका सांसद रहेको पनि उनको भनाइ छ । 'सत्तापक्षका सांसदहरूलाई खुसी पारौँ भनेर धेरै कोसिस सरकारले गरेको हो । तर सकेन । यसलाई परिवर्तन गरौँ,' उनले भने । 

कान्तिपुर

Link copied successfully