'बजेट हेर्ने हो भने कोही ससुरालीको बाटोमा हालिएको, कोही जेठी सासुको घरतिर जाने बाटोमा हालिएको, कोही सालीकोतिर पनि हालिएको जस्तो देखिएको छ, कुनै-कुनै मन्त्रीहरूले, यो परम्परा नहोस्'
काठमाडौँ — सत्तारुढ कांग्रेस सांसद रामाहरि खतिवडाले बजेट संशोधन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद खतिवडाले संसद्मा छलफल भएपछि सांसदले उठाएका विषयवस्तु समेट्नका लागि बजेट संशोधन गर्नुपर्ने बताए ।
सरकारले ल्याएको बजेटमा संसद्मा जति छलफल गरेपनि संशोधन गर्नै हुन्न भन्ने परम्परा परिवर्तन गर्नु आवश्यक रहेको खतिवडाको भनाइ थियो ।
'जनताबाटै निर्वाचित प्रतिनिधि मन्त्री हुनुभएको छ, यसलाई ख्याल गरेर बजेट निर्माण गर्ने परम्पराको सुरुवात भइदिएदेखि हामी असाध्यै खुसी हुने थियौं । बजेटमाथि यत्रो आवाज उठ्छ, यसमा 'कमा, फूलस्टप' परिवर्तन गर्न हुँदैन भन्ने धारणा छ, यो परिवर्तन गर्नुपर्छ । सांसदको आवाजलाई सुनेर बजेटमा परिवर्तन गर्नुपर्छ, परिवर्तन गरियोस्,' उनले भने, 'बजेटमा छलफल गरिसकेपछि जस्ताको तस्तै पास गर्नपर्छ भन्ने भवना ठिक होइन । पहिले नै छलफल गरेर बजेट ल्याएको भए सांसदले, स्थानीय जनप्रतिनिधिबाट र मन्त्रीले सांसदबाट आलोचना सुन्नु पर्दैनथ्यो । त्यसैले यसलाई संशोधनको बाटोमा लाने प्रयास सुरु होस् ।' सांसद खतिवडाले बजेट निर्माण पहिले नै संसद्मा छलफल गर्नुपर्ने परिपाटीको सुरुवात गर्नुपर्ने बताए ।
त्यस्तै, सांसद खतिवडाले अर्थमन्त्रालयको बहुवर्षीय योजना सम्बन्धी नीति र व्यवहारले समस्या उत्पन्न गरेको बताए । 'अहिले अर्थ मन्त्रालयले नीति ल्याएको रहेछ, पाँच करोडभन्दा कमको योजनालाई बहुवर्षीयमा नलाने,' उनले सोधे, 'अर्थमन्त्रीज्यू, बजेट दिँदा तीन करोडको भनेर दिने, पाँच करोडभन्दा तलकोलाई बहुवर्षीयमा नलाने भए त ठूलो हाल्नेको मात्रै जाने भयो बहुवर्षीयमा त । मन्त्रीहरूको मात्रै जाने भए सांसदका नजाने भए ।'
मन्त्रीहरूले मनलाग्दी बजेट विनियोजन गरेकोपट्टी सरकारको ध्यानाकर्षण हुनुपर्ने सांसद खतिवडाको भनाइ थियो । 'बजेट हेर्ने हो भने कोही ससुरालीको बाटोमा हालिएको, कोही जेठी सासुको घरतिर जाने बाटोमा हालिएको, कोही सालीकोतिर पनि हालिएको जस्तो देखिएको छ, कुनै-कुनै मन्त्रीहरूले । यो परम्परा नहोस् । सबैलाई समान रुपमा वितरण होस् । मन्त्रीको मात्रै होइन देशको लागि बजेट वितरण गर्ने हो,' उनले भने ।
