भारतमा रहेका नेपाली स्वदेश फर्किएर देशको भाग्य लेख्न तयार हुनुपर्छ : सांसद गौतम

असार ८, २०८२

कान्तिपुर संवाददाता

Nepalis in India should return home and prepare to write the country's destiny: MP Gautam

काठमाडौँ — भारतमा रहेका नेपालीहरू स्वदेश फर्किएर देशको भाग्य लेख्ने कार्यमा सहभागी हुनुपर्ने रास्वपा सांसद सोबिता गौतमले आह्वान गरेकी छन् ।

उनले रास्वपाले जनताका मुद्दा नेपालको संसद्‌मा उठाइरहेको तर जनतामा माग र पीडा सम्बोधन गर्ने संख्या नरहेको पनि बताइन् । 

प्रवासी नेपाली सम्पर्क मञ्च, भारतअन्तर्गत कर्नाटक राज्य समिति घोषणा सभामा आइतबार सांसद गौतमले विभिन्न पेसा र व्यवसाय गर्न भारत पुगेका नेपालीहरू आगामी निर्वाचनमा स्वदेश फर्किनुपर्ने बताएकी हुन् ।

'भारतमा हुनुभएका नेपालीहरू नेपाल फर्किएर नेपालको भाग्य लेखन तयार हुनुपर्छ । ६० लाख नेपालीहरू भारतमा रहेका छन् भनिन्छ, अब यहाँहरू नेपाल फर्किएर नेपालको भाग्य लेख्न तयार हुनुपर्छ,' उनले भनिन्, 'आजको संसद्‌मा रास्वपालाई नेपाली जनताले दिएको हैसियत चौथो दलको हो । आज जनताका आवाज स्पष्ट राख्न सक्ने भएका छौं तर अहिले नै नेपाली जनताका आवाज, पीडा सम्बोधन गर्नका लागि संख्या हामीसँग छैन । सदनमा संख्या अनुसार कुनै पनि कुराको निर्णय हुनेगर्छ ।'

रास्वपाले २०८४ को निर्वाचनलाई लक्षित गरेर कार्यक्रम अगाडि बढाइरहेको उल्लेख गर्दै सांसद गौतमले थपिन्, 'यसपटकको निर्वाचन (२०७९)ले नेपाली जनताका मुद्दा उठान गर्न पाएका छौं, अर्को पटकको निर्वाचनमा नेपाली जनताका समस्या समाधान गर्ने बाचा गर्दछौं,' उनले भनिन् ।

नेपालको संसद् रास्वपाका सांसदहरूका कारण हेर्न लायक बनेको पनि सांसद गौतमको दाबी थियो । 'आज नेपालको सदन कसैको कारणले हेर्न लायक छ भने त्यो रास्वपाका सांसदहरूको कारणले छ । सदनमा रास्वपाले नेपाली जनताको मुद्दा उठाएको छ । नेपाली जनताको मुद्दामा कुनै पार्टी अडिएको छ भने त्यो रास्वपा अडिएको छ,' उनले भनिन् । 

भिजिट भिसा प्रकरण र अध्यागमनमा भएका अनियमितताको छानबिन माग गर्दै रास्वपा संसद्को वेल घेराउमा रहेको पनि सांसद गौतमले बताइन् । उनले जनताका मुद्दामा रास्वपा संसद्‌मा अडिग भएर उभिने पनि स्पष्ट पारिन् । 

रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको पनि सांसद गौतमको भनाइ थियो । लामिछाने सहकारी ठगीलगायतका मुद्दामा पुर्पक्षका लागि थुनामा रहे‍का छन् । रास्वपा पनि संघर्षबाट अगाडि बढिरहेको गौतमले बताइन् । उनले रास्वपाले उठाएका आवाज दबाउने काम भइरहेको पनि उनको भनाइ थियो । 

Nepalis in India should return home and prepare to write the country's destiny: MP Gautam

नेपालमा विगतमा भएका राजनीतिक परिवर्तनमा भारतमा रहेका नेपालीको भूमिका ठूलो रहेको बताउँदै सांसद गौतमले आगामी निर्वाचनमा पनि त्यसको आवश्यकता रहेको बताइन् । भारतमा रहेका नेपालीलाई आगामी निर्वाचनमा भोट हाल्नका लागि स्वदेश फर्किन पनि उनले आग्रह गरिन् । मुलुकलाई आर्थिक समृद्धिमा लैजानका लागि पनि सबै नेपालीको साथ चाहिएको उनको भनाइ थियो । 

कान्तिपुर

Link copied successfully