काठमाडौँ — नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराष्ट्रपति विद्या भण्डारी र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमा वैचारिक र राजनीतिक संस्कारका हिसाबले कुनै फरक नरहेको टिप्पणी गरेका छन् । कान्तिपुरसँगको अन्तर्वातामा उनले भण्डारी र ओलीको राजनीतिक विचार, संस्कार र सोच एउटै रहेको पनि बताएका छन् ।
पूर्वराष्ट्रपति भण्डारी पनि एमालेमा सक्रिय हुन खोजेको र उनले चीन भ्रमण गरेपछि बढाएको सक्रियता बृहत् वाम एकताका लागि हो कि ? भनेर सोधिएको प्रश्नमा दाहालले भण्डारी राजनीतिमा आएपछि वाम ध्रुवीकरण हुन्छ भन्ने सामयिक लाग्दैन भनेर टिप्पणी गरे ।
उनले भने, 'केपी हुँदा हुनै नसक्ने, विद्याजी आउँदा तुरुन्तै वाम एकता अघि बढ्ने कुरा होइन । मैले बुझेअनुसार केपीजी र विद्याजीको राजनीतिक विचार, संस्कार र सोच एउटै हो । त्यहाँ केही अन्तर छैन । एमालेभित्र विद्याजी आइदिए हुन्छ भन्ने बाहिरै सुनिएकै छ । तर वैचारिक र राजनीतिक संस्कारका हिसाबले विद्याजी र केपीजीमा फरक छ भन्ने लाग्दैन।'
उनले पूर्वराष्ट्रपति भण्डारी एउटा चरणमा प्रधानमन्त्रीको रबर स्ट्याम्पजस्तै देखिएको बताउँदै त्यही कारणले त्यतिबेला देश अप्ठ्यारोमा परेको पनि बताएका छन् । उनले अन्तरवार्तामा भनेका छन, 'त्यो कुरा हामीले बिर्सन हुँदैन । एउटा चरणमा विद्याजी प्रधानमन्त्री केपी ओलीको रबर स्ट्याम्पका रूपमा देखिएकै हो । मैले त्यतिबेला संसद् र बाहिर पनि बोलेको छु । एमालेमा केपीजी जाने, विद्याजी आउनेबित्तिकै वाम एकताको आधार बन्ने म देख्दिनँ ।'
कान्तिपुरसँगको कुराकानीमा उनले चीनका नेताले जहिले पनि वामपन्थी एक भइदिए हुन्थ्यो भन्ने कुरा गर्ने गरेकाे बताउँदै यो ‘ओपन सेक्रेट’ रहेको बताए । उनले नेपालका वामपन्थीहरु चीनको सदाशयताअनुसार नचल्ने बरु आफ्नै विचार, विवेक र परिस्थितिअनुसार निर्णय गर्ने पनि बताएका छन् ।
