'यो सदनको चौथो र पाँचौँ ठूलो पार्टी धर्नामा छ । यसलाई सम्झौतापूर्ण परिस्थिति निर्माण गर्नका लागि निम्ति प्रधानमन्त्री अथवा सत्तापक्ष, सभामुख, सबै प्रतिपक्षले एउटा बाटो निकाल्नुपर्दैन ?'
काठमाडौँ — सत्तारुढ कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुशासन आयोग गठनलाई 'कहिँ नभएको जात्रा'को संज्ञा दिएका छन् । सत्तामा रहेकाहरूमा अहंकार हुन नहुने बताउँदै उनले संसद्मा रास्वपा र राप्रपाले गरिरहेको विरोधको समाधान गर्नुपर्ने पनि सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद केसीले सुशासन दिनुपर्ने प्रधानमन्त्री र मन्त्रीहरू रहेको सुशासन आयोग गठन गरेकोमा आपत्ति जनाएका हुन् ।
'प्रधानमन्त्री र मन्त्रिपरिषद् सुशासनको केन्द्रबिन्दु हो । त्यो केन्द्रबिन्दुमा प्रधानमनत्रीको अध्यक्षतामा सुशासन आयोगको किन जरुरी ? साच्चै सुशासन चाहिएको भए देशका सुशासनका विज्ञ हुन्थे, पाँच जनालाई राखेको भए हुन्थ्यो । मन्त्री र प्रधानमन्त्री त सुशासन दिने संस्था हो । उसैले त्यो आयोगमा बसेर के गर्न खोजेको हो, मैले बुझेको छैन । यो आँखामा छारो हाल्ने काम मात्रै भएको छ,' सांसद केसीले भने ।
प्रधानमन्त्री कार्यालयलाई अझै सशक्त बनाउनुपर्ने भएपनि यस्ता आयोगले भने केही पनि कार्य गर्न नसक्ने उनले बताए । 'मेरै पार्टीको प्रधानमन्त्री होस् या मेरो गठबन्धनको प्रधानमन्त्री होस् जे सत्य छ त्यो सत्यलाई भन्दा नै त्यो संस्थाको संस्थागत विकासका प्रक्रिया अगाडि बढन सक्दछन् । त्यसले अगतिहरूलाई गतिशिलतामा लान सक्छ भन्ने विश्वास छ,' केसीले भने, 'प्रधानम्नत्रीको अध्यक्षतामा सुशासन आयोग कहिँ नभएको जात्रा भएको मलाई आभाष भइरहेको छ ।' सुशासन दिनुपर्ने व्यक्तिहरू नै आयोगमा बसेर कस्तो सुशासन दिन खोजेको भन्ने उनको प्रश्न थियो ।
त्यस्तै, सांसद केसीले लोकतन्त्रमा वादविवाद र संवादमा लाग्नुपर्ने बताए । संसद्मा विरोधमा रहेकाहरूलाई संवादमा ल्याएर समस्या समाधान गर्न प्रधानमन्त्री ओलीको सक्रियता हुनुपर्ने उनको माग थियो । 'यो सदनको चौथो र पाँचौं ठूलो पार्टी धर्नामा छ । यसलाई सम्झौतापूर्ण परिस्थिति निर्माण गर्नका लागि निम्ती प्रधानमन्त्री अथवा सत्तापक्ष, सभामुख, सबै प्रतिपक्षले एउटा बाटो निकाल्नुपर्दैन ?,' उनले भने, 'वाद, प्रतिवाद र संवाद त राजनीतिमा चल्छ । यसलाई मूकदर्शक भएर जस्तो छ त्यस्तै चलाइरहने हो भन्ने हो भने आज हामीले जसरी गरिरहेका छौं 'जो आज तुम्हारा हे, कल तुम्हारा नहीं होगा औरका होगा', प्रतिशोध, आक्रोश र कसैलाई यहाँ बदला लिन्छु भन्ने दृष्टिकोण लियो भने त्यो भोलि आफैमाथि पनि फर्किन सक्छ ।'
राज्यसत्ताको नेतृत्व गर्नेहरूले संयमित, नियमित कानुनी प्रक्रिया र सन्तुलनमा लाग्नुपर्ने केसीको भनाइ थियो । उनले सत्तामा बसेपछि अहंकार, दम्भर र मैले जे गरे त्यै ठिक हो भन्ने प्रवृति त्याग्नुपर्ने बताए ।
