कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ : कोइराला

असार ८, २०८२

रासस

Congress convention should be held by November 2083: Koirala

दमौली — कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन  २०८३ साल मंसिरभित्र हुनुपर्नेमा जोड दिएका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्ने बताएका हुन् । 

'म पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्छ भन्ने पक्षमा छु, नेपाली कांग्रेसको महाधिवेशन जति लम्बिँदै जान्छ, यसले पार्टीलाई फाइदा गर्दैन,' उनले भने ।  नेता कोइरालाले २०८४ को आमनिर्वाचन अगाडि महाधिवेशन हुनुपर्नेमा जोड दिए । 

स्थानीय, प्रदेश तह र सङ्घीय निर्वाचन समयमा हुने भएकाले त्यसतर्फ सोचेर अगाडि बढ्न नेता कोइरालाले आग्रह गरे । विगतमा नेपाली कांग्रेसको बलियो साङ्गठनिक जिल्लाका रूपमा तनहुँ रहे पनि अहिले त्यस्तो अवस्था नरहेकाले त्यसतर्फ सोच्न उनले सबै नेताकार्यकर्तालाई आग्रह गरे ।  

रासस

Link copied successfully