'सभामुखले निर्देशन दिनुपर्यो कि ७७ जिल्लामै बजेट किन गएन ? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई । सभामुखलाई एमालेले जे भन्यो त्यही निर्देशन हुन्छ । सभामुख संसद्को हो, एमालेको होइन'
काठमाडौँ — सांसद अमरेशकुमार सिंहले बजेट विनियोजनमा विभेदमा परेका ७२ जिल्लालाई लिजमा दिँदा हुन्छ भनेपछि प्रतिनिधिसभामा विवाद भएको छ । संसद्मा बोल्ने क्रममा स्वतन्त्र सांसद सिंहले बजेटमा पाँच जिल्ला मात्रै भाग्यमानी भएको र बाँकी जिल्लामाथि विभेद भएको बताएका थिए ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सिंहले भने, 'नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु कि चार-पाँच जिल्ला भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं बाँकी ७२ जिल्लालाई लिजमा दिउँ अर्को देशलाई । अमेरिका, चाइना, भारतलाई दिउँ । बजेट नै जाँदैन भने नेपालमा किन राख्ने ? कर लिनका लागि मात्रै राख्ने ?'
सांसद सिंहको भनाइप्रति एमालेका मुख्य सचेतक महेश बर्तौलाले आपत्ति जनाए । 'देशलाई अर्को देशमा, अमेरिकालगायत देशमा गाभिदिऔं भनेर संसद्को रोष्ट्रमबाट यस्तो आपत्तिजनक छ,' बर्तौलाले भने ।
त्यसपछि सिंहले आपत्ति जनाए, 'गाभिदिऔं भनेको छैन, लिजमा दिऔं भनेको छु ।' बर्तौलाले भने त्यस्तो अभिव्यक्ति राष्ट्रघाती भएको बताए ।
सिंहले भने प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो जिल्लामा मात्रै बजेट पठाएपछिको आपत्ति रहेको बताए । बर्तौलाले सिंहको भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । उक्त भनाइलाई कारबाहीको विषय बनाउनुपर्ने, उनलाई थप बोल्न दिन नहुने र राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न नसक्ने बर्तौलाको भनाइ थियो ।
सभामुख घिमिरेले भने, 'सांसदले पाँच जिल्लाबाहेक अरु जिल्लालाई अरु मुलुकहरूलाई दिए हुन्छ भनेर बोल्नुभएको छ । त्यसैले उहाँले अरु मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भनेर बोलेको कुरालाई संसद्मा असंसदीय भाषा प्रयोग भयो । राष्ट्रमाथि प्रश्न खडा हुने भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने निर्देशन गर्दछु ।'
सांसद सिंहले त्यसपछि सभामुख घिमिरेमाथि प्रश्न उठाए । 'सभामुख दलीय हिसाबले निर्देशन दिनुहुन्छ । त्यो निर्देशन हामी मान्न तयार छैनौँ । सभामुखले निर्देशन दिनुपर्यो कि ७७ जिल्लामै बजेट किन गएन ? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई । सभामुखलाई एमालेले जे भन्यो त्यै निर्देशन हुन्छ । सभामुख संसद्को हो, एमालेको होइन ।'
त्यसपछि, सांसद सिंहलाई एमाले र कांग्रेसका सांसदले बोल्न अवरोध गरेका थिए । उनीहरूले सांसद सिंहलाई 'गद्दार' हो भनेका थिए । जवाफमा सिंहले एमाले र कांग्रेस नै 'गद्दार' भनेका थिए ।
एमाले र कांग्रेस सांसदले 'सिंहलाई कारबाही गर' भनेर नाराबाजीसमेत गरेका थिए । त्यसपछि सभामुख घिमिरेले विषयमा बोल्न निर्देश गरेका थिए ।
जवाफमा सिंहले स्वतन्त्र सांसद र साना दललाई निर्देशन दिने, बजेट विनियोजन विभेदपूर्ण गरेको भन्दै जवाफ दिएका थिए । सभामुख घिमिरेले निर्धारित विषयमा बोल्न निर्देशन दिए र त्यस विषयमा नबोल्ने भए रोष्ट्रम छोडेर जानका लागि निर्देशन दिएका थिए । त्यसपछि पनि सिंहले आपत्ति जनाए ।
राष्ट्रियताबारे आफूमाथि प्रश्न नउठाउन पनि सिंहले चेतावनी दिए । सभा सञ्चालन गुण र दोषको आधारमा गर्न पनि उनले सभामुखलाई भनेका थिए ।
