जीबी सम्बद्ध सहकारीका बचतकर्ताले कहिल्यै पैसा फिर्ता पाउने छैनन् : लामिछाने

'सन्दुक रुइत, कुलमान घिसिङ, राजेश हमालसम्म कैयौंलाई पार्टीको नेतृत्व गरिदिन हारगुहार गरेँ, कसैले विश्वास गरेनन्'

असार ७, २०८२

कान्तिपुर संवाददाता

Savers of GB affiliated cooperatives will never get their money back: Lamichhane

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई फसाउन जीबी राईमाथि पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएक बताएका छन् । भैरहवा कारागारमा रहेका लामिछानेले सार्वजनिक अपिलमार्फत आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको उल्लेख गरेका छन् ।

'चार जिल्ला, चार उच्च र पछि सर्वोच्चसम्म गरेर नौ–नौवटा अदालतमा (अब त पर्सा जिल्ला अदालत पनि थपियो) मुद्दा झुन्ड्याइएको व्यक्तिले कानुन व्यवसायीको राय नसुन्न पनि मिलेन,' उनले भनेका छन् ।

जीबी मलेसियाबाट लाखौं डलर बोकेर फर्के पनि हिसाब फरफारक गर्न नपाओस् भन्ने षड्यन्त्र हुने उनको भनाइ छ । 'यो देशमा सबै सहकारी पीडितले पैसा फिर्ता पाएछन् भने पनि जीबी राई सम्बद्ध सहकारीका बचतकर्ताले कहिल्यै पाउने छैनन् । सुरुमा जीबी राईलाई केवल सहकारी ठगीको मुद्दा थियो । त्यसका लागि मेलमिलापको ढोकासमेत बन्द गर्ने कानुनी प्रपञ्च रचिसकिएको छ,' लामिछानेले अपिलमा भनेका छन् ।

स्वस्थ र प्रजातान्त्रिक विधिबाट रास्वपासँग अब राजनीतिक प्रतिस्पर्धा गर्न सकिन्न र लुटको स्वर्ग भत्कन्छ भन्ने निष्कर्षमा पुगेपछि राजनीतिक दलहरु आफूविरुद्ध षड्यन्त्रमा लागेको पनि उनको आरोप छ ।

'सञ्चारकर्म छोडेर राजनीतिमा आउने निर्णय त गरेँ तर प्रवेश कसरी ? मसँग दुई विकल्प थिए,' उनले भनेका छन्, 'या त स्थापित पार्टीभित्रै छिरेर हस्तक्षेप गर्ने या नयाँ पार्टीको संरचना खडा गरेर स्थापितलाई घचघच्याउने ।' 

पार्टीको नेतृत्व गरिदिन विभिन्न विशिष्ट व्यक्तिको दैलोसम्म पुगे पनि धेरैले इन्कार गरेको लामिछानेले खुलासा गरेका छन् । 'सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म, राजेश हमालदेखि अनिलकेसरी शाहसम्म यस्ता कैयौं व्यक्तिसँग पार्टीको नेतृत्व गरिदिन हारगुहार गरेँ । कसैले विश्वास नगरेपछि मात्रै म आफैं सभापति भएर पार्टी दर्ता गरेको हुँ ।'

यस्तै, एकाथरी आलोचकले सत्तालोलुपको आरोप लगाउने गरेको भन्दै उनले उल्लेख गरेका  छन्, 'म तिनलाई यत्ति भन्छु, रवि लामिछानेले प्रधानमन्त्रीको अफर दुत्कारेको हो । हामीले पाएको जनमत प्रधानमन्त्री बन्न होइन भनेर छाडेको हो ।'

कान्तिपुर

Link copied successfully