काठमाडौँ — प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ। सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बैठक कक्षबाट बाहिरिन थालेका छन्।
रोचक पक्ष के छ भने विपक्षी दलका सांसदको पालो आउँदा रास्वपाका सांसद पुनः बैठकमा प्रवेश गर्ने गरेका छन्। कहिले नीलो गलबन्दी लगाएर, त कहिले वेल अगाडि पलेँटी कसेर विरोध जनाउँदै आएको रास्वपाले आज सत्तापक्षका सांसद बोल्दा बाहिरिने र प्रतिपक्षको पालो आउँदा बैठकमा प्रवेश गर्ने रणनीति लिएको देखिएको छ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिपक्षी दलका सांसदले विनियोजन विधेयकमाथि धारणा राख्दा वेल अगाडि उभिएको र सत्तापक्षका सांसद बोल्न थालेपछि बैठकबाट बाहिरिएको बताए ।
'सत्तापक्षका सांसद बोल्न थालेपछि बैठकबाट बाहिरिएका हौँ। हामी संसद् भवनमै छौँ। प्रतिपक्ष बोल्ने बेला फेरि भित्रिन्छौँ,' उनले भने ।
