पर्वत — कुश्मा नगरपालिका–७ खरेहामा रहेको गौशाला असुरक्षित र अव्यवस्थित हुँदा गाईको हत्या र चोरी हुने गरेको छ । जङ्गलको बीचमा रहेको गौशालालाई जङ्गली जनावरको जोखिम पनि उतिकै रहेको छ ।
कुश्मा बजारमा छाडा छोडिएका पशु चौपायाहरूको व्यवस्थापन आवश्यक देखेपछि खरेहाका स्थानीयवासीले जग्गा भाडामा लिएर गौशाला निर्माण गरेका हुन् । २०७६ सालमा सञ्चालनमा आएको गौशाला सुरुवाती दिनमा राम्रै अघि बढेको थियो । गौशाला हेरालु गोपाल पौडेल भन्छन्, ‘अहिले कसैको चासो छैन । गाईहरूको हत्या र चोरी पनि रोकिएको छैन ।’
जंगलको बीचमा गौशाला भएकाले बाघ र मान्छेबाटै डर रहेको उनी बताउँछन् । ‘गौशालामा भीरको बाटो बिहान बेलुकी आउनुपर्छ । तीनवटा गाई गौशालाभित्रै काटेको भेटियो । बिहान छाडेका गाईहरू बेलुकी गौशाला फर्किन्नन्’, उनले भने, ‘हराएका गाईहरू खोज्दै जाँदा तलपट्टी खुकुरी भेटियो । त्यहाँ गाई लगेर काट्ने र मासु लिएर जाँदा रहेछन् ।’
धेरै ठाउँहरूबाट गाई लिन बोलाए पनि हिजो–आज उनी एक्लै भएकाले जान छाडेका छन् । भन्छन्, ‘म एक्लो मान्छेले टाढा टाढा पुगेर यस्तो भीरको बाटो गौशालासम्म कसरी गाई ल्याउने’, उनले भने, ‘पहिले समितिका मान्छेले साथ दिन्थे र ल्याइन्थ्यो । अहिले यसैकोमात्र काम हो भन्छन्, आउन्नन् ।’
पवित्र उद्देश्य बोकेर जिल्लाभित्रका छाडा पशु चौपायाहरूलाई व्यवस्थित बनाउन गौशाला निर्माण गरिएको गौशाला निर्माण समितिका अध्यक्ष बाबुराम पौडेल बताउँछन् । ६० रोपनी जमिनमा वार्षिक ४० हजार रुपैयाँ भाडा तिरेर चरण क्षेत्र सहितको गौशाला निर्माण भएको छ । जंगलको बिचमा गौशाला निर्माण गर्दा ध्यान नपुगेको स्विकार्छन् ।
‘चरण क्षेत्र भनेर यहाँ निर्माण गरियो । मान्छे र जंगली जनावरबाट गाईहरु सुरक्षित भएनन्,’, उनले भने । ‘कुश्मा नगरपालिकाले हरेक वर्षजस्तो एक डेढ लाख जति सहयोग गर्दै आए पनि त्यो पर्याप्त छैन । वार्षिक तीन लाखजति गौशालाको खर्च आउँछ’, उनले भने, ‘हेरालुलाई मासिक तलब, गाई रोग लाग्दा हुने उपचार खर्च, जमिन भाडा लगायतको पैसा तिर्न नै पुग्दैन । पटक पटक नगरपालिका धाएर माग्नुपर्छ । बरु शीर्षकमै बजेट छुट्टाइदिए राम्रो हुन्थ्यो ।’
गौशालामा यति बेला ९ वटा मात्र गाई रहेका छन् । गाईको संख्या घट्दो छ । बजारमा देखिने चौपायाहरूलाई गौशालासम्म पुर्याउने चासो कसैले लिँदैनन् । ‘बजारमा गाईहरू देख्दा साह्रै माया लागेर गौशाला छोड्न पर्यो भनेर हेर्न जाँदा बिजोक देखेँ’, कुश्माकी राजकुमारी रानाले भनिन्, ‘पानी खानसमेत नपाउने रहेछन् ।’
कुश्मा नगरपालिका–७ मा गौशाला स्थापना भए पनि सबै वडाहरूले अपनत्व लिनुपर्ने वडाध्यक्ष परशुराम पुरीले बताए । वडामा निश्चित बजेट आउने र धेरै ठाउँमा बाँड्नुपर्ने भएकाले वडाको रकम गौशालामा विनियोजन गर्न समस्या भएको उनले बताए । ‘मैले कार्यपालिका बैठकमा गौशालालाई भनेर रकम माग गर्दै आएको हुन्छु’, उनी भन्छन्, ‘अन्य वडाका साथीहरूले खाली आफ्नै वडामामात्र बढी बजेट माग गर्यो भन्ने आरोप लग्छ ।’
आफ्नो वडामा गौशाला स्थापना भए पनि त्यहाँ सबै ठाउँबाट पशु चौपायाहरू ल्याउने गरिएको वडा अध्यक्ष पुरी बताउँछन् । भन्छन्, ‘गाई गोरु सबै ठाउँबाट ल्याउने अनि बजेट हाल्न पर्यो भन्दा मेरो वडालाई मात्र देखाउन भएन ।’
गौशाला कि बन्द गर्नुपर्ने नभए व्यवस्थित तरिकाले सञ्चालन गर्न सक्नुपर्ने उनी बताउँछन् । उनले कुश्मा नगरपालिकाको नगर सभा हुँदै रहेको हुनाले यो वर्ष शीर्षक छुट्टाएरै व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । ‘मैले नगर सभामा राख्ने कुरा राख्छु । गौशाला निर्माण समिति पनि चलायमान हुन आवश्यक छ’, उनले भने ।
