काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदै आएको बताएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउने, तनावबाट मुक्त गराउने र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।
'योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउने, तनावबाट मुक्त गराउने र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ,' राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, 'नेपालमा सांस्कृतिक क्षेत्रको भौतिक तथा अभौतिक सम्पदाहरूमा योग विज्ञानको प्रयोग भएको पाइन्छ । योगलाई मुलुकको राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम तथा जनस्वास्थ्यको क्षेत्रमा अभिन्न अङ्गको रूपमा स्थापित गर्दै यस क्षेत्रको विकासमा थप कार्य गर्न आवश्यक रहेको म ठान्दछु ।'
संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन सुरू गरिएको हो । यस वर्ष हामी ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने आदर्श वाक्यका साथ योगको मर्म र भावनाबमोजिम विश्व योग दिवस मनाइँदैछ । योगलाई शारीरिक अभ्यास तथा निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक मानवीय जीवनशैली एवं जीवनपद्धतिका रूपमा पनि लिइन्छ ।
