परागसेचन सचेतना सप्ताह मनाइँदै

असार ७, २०८२

मनोज पौडेल

Celebrating Pollination Awareness Week

लुम्बिनी — परागसेचनले मानव जीवनलाई निकै सहज बनाएको कमैलाई थाहा होला । तर, खाद्यान्न उत्पादन, पारिस्थितिक प्रणाली स्वस्थ र वातावरण सन्तुलन राख्न यसले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

परागसेचनमा नाम कमाएका मौरी, पुतली, चमेरो र हमिङबर्ड चरालगायत संकटमा पर्दै जाँदा यी प्राणीको महत्त्व उजागर गर्न परागसेचक सप्ताह मनाइन लागेको हो । नजानिंदो तरिकाले मानवको सहज जीवनयापनदेखि अर्थतन्त्रमा समेत ठूलो योगदान गर्ने परागसेचनको महत्त्व उजागर गर्दै संरक्षणमा योगदान गर्न मुलुकका विभिन्न ठाउँमा क्रियाशील संस्थाले विभिन्न कार्यक्रम गरेर सप्ताहव्यापी रूपमा परागसेचन दिवस मनाइरहेका हुन् । 

भक्तपुरमा रहेको सोसल मिडिया बेस्ड प्लेटफर्म बटर फ्लाइ वाचर्स नेपालले संयोजन गरेर लियो क्लब अफ पोखरा नर्थ, क्लब फर वाइल्डलाइफ कन्जर्भेसन, युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपाल, भक्तपुर जेसिज र ह्यापी केक्स एन्ड बेकरी, भक्तपुरको सहभागितामा कार्यक्रम भइरहेको छ । जुन १६ देखि २२ सम्म सप्ताहव्यापी मनाइने यो कार्यक्रमको नारा ‘परागसेचनलाई सम्मान, भविष्यलाई संरक्षण’ भन्ने दिइएको छ । 

संरक्षणप्रेमी मिलेर सानो प्रयास गरेर परागसेचन सप्ताह गरिरहेको कार्यक्रम संयोजक तथा पुतलीविद् सानेजप्रसाद सुवालले बताए । वास्तवमा ससाना पुतली, मौरी, चमेरो, बारुलो र चराको पनि ठूलो महत्त्व छ,’ उनले भने, ‘यसले मानो छरेर मुरी फलाउनेदेखि मुलुकको अर्थतन्त्र बलियो बनाउँछ ।’ परागसेचन संरक्षण गर्नुपर्छ भन्ने सरकारी स्तरबाट खासै चासो नभएकाले आफूहरू लागेर जनस्तरबाट सचेतना गरिरहेको उनले बताए । विश्वभरि नै संरक्षणका क्षेत्रमा काम गर्ने संघसंस्थाले अहिले परागसेचन सप्ताह मनाउँदै छन् ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नेपालको जुनसकै ठाउँमा खिचेको हुने परागसेचज फोटोग्राफी प्रतियोगिता र बटरफ्लाइ म्याराथन (धेरै प्रजातिका पुतलीको फोटो खिच्नेलाई पुरस्कार) राखिएको छ । त्यस्तै बालबालिकालाई परागसेचन संरक्षणमा सक्रिय बनाउन विद्यालयमा चित्रकला प्रतियोगिता, फेस पेन्टिङ र रंग भर्ने कार्यक्रम भइरहेको छ ।

सहरी वन क्षेत्रमा मौरीको घर स्थापना गरेर सर्वसाधारणलाई परागसेचनको आवास संरक्षणको महत्त्व बुझाइने कार्यक्रम छ । त्यस्तै काठमाडौंको रानीबारीमा पचरागसेचन प्राणीको प्रत्यक्ष अवलोकन गराई सचेतना प्रदान गरिने कार्यक्रम राखिएको लियो क्लब अफ पोखरा नर्थका अध्यक्ष सिद्धार्थ सापकोटाले बताए । सबै कार्यक्रम उपत्यकाका तीनै जिल्लामा गरिनेछ । Celebrating Pollination Awareness Weekकपिलवस्तु नगरपालिका-३, देवनगढीयामा सिसौको रुखमा देखिएका चमेरा । तस्बिरहरू : मनोज पौडेल/कान्तिपुर 

परागसेचनहरू एउटा फूलबाट अर्को फूलमा परागकर्ण सार्छन् । यो बीउ, फल र बिरुवाको अर्को पुस्ता उत्पादन गर्ने प्रक्रियाको पहिलो चरण हो । हेर्दा सामान्य जस्तो लागे पनि धेरैजसो फूल फुल्ने बिरुवाको प्रजनन् प्रणालीका लागि महत्त्वपूर्ण आनुवंशिक तत्त्व परागसचेनले स्थानान्तरण गर्छ । 

पृथ्वीमा रहेका सबै फूल फुल्ने बिरुवामध्ये ७५ देखि ९५ प्रतिशतलाई परागसेचन चाहिने कुरा अमेरिकामा मुख्यालय रहेको परागसेचनमा काम गर्ने विश्वकै सबैभन्दा ठूलो संस्था पोलिनेटर पार्टनसिपको एक अध्ययनले देखाएको छ । त्यस्तै परागसेचनकर्ताले १ लाख ८० हजार बढी विभिन्न वनस्पति र १ हजार २ सय बढी बालीलाई परागसेचन सेवा प्रदान गर्ने बताइएको छ । यसको अर्थ मानवले खाने प्रत्येक तीनवटा खानामध्ये एउटा परागसेचनकर्ताको कारणले हुने बताइएको छ ।

परागसेचनकर्ताले विश्वव्यापी अर्थतन्त्रमा २१७ अर्ब डलर थप्ने र संयुक्त राज्य अमेरिकामा १.२ देखि ५.४ अर्ब डलरको कृषि उत्पादकत्वका लागि मौरीको योगदान रहेको विभिन्न विद्वानका अनुसन्धानलाई उद्धृत गर्दै पोलिनेटर पार्टनसिपले आफ्नो वेबसाइटमा राखेको छ । 

प्रदूषण, विषादीको बढ्दो प्रयोग, चोरीसिकारी, रोगब्याधी र जलवायु परिवर्तनको असरले परागसेचकको संख्या घट्दै जानु चिन्ताको विषय भएको छ । यसका लागि स्थानीय तहले योजना बनाएर अघि बढ्न ढिला गर्न नहुने लियो क्लब अफ पोखरा नर्थका अध्यक्ष सापकोटाले बताए ।

परागसेचनले पारिस्थितिक प्रणालीलाई सन्तुलन गर्ने र बोटबिरुवा पुनरुत्पादन गर्न सहयोग गर्छ । परागसेचकले खानाबाहेक जैविक विविधता सन्तुलन र खाद्यचक्र सन्तुलित बनाउन पनि सहयोग गर्छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully