ठगी आरोपमा गाउँपालिकाका पूर्वअध्यक्ष र नापीका कर्मचारीविरुद्ध पक्राउ पुर्जी

अनुसन्धान सुरु भएपछि फरार

असार ७, २०८२

शिव पुरी

An arrest warrant has been issued against the former chairman of the village council and the employee of the surveyor on fraud charges

रौतहट — ठगी आरोपमा रौतहटको दुर्गाभगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुण साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उजुरी परेपछि उनीविरुद्ध रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयले जिल्ला अदालत रौतहटबाट पक्राउ अनुमति लिएको हो ।

ठगी आरोपमै प्रहरीले काठमाडौंस्थित नापी कार्यालय डिल्लीबजार अन्तर्गतको टोखा टोली प्रमुख सञ्जय साह, काठमाडौं नागार्जुन-४ का विमलादेवी श्रेष्ठ र छोरा धिरज श्रेष्ठविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी लिइएको ईलाका प्रहरी गरुडाका डीएसपी राजन कार्कीले बताए । 

गरुडा नगरपालिका–६ पोठियाहीका सन्तोषकुमार चौधरीले जग्गासम्बन्धी कारोबारमा रकम ठगी गरेको आरोपमा उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । 

‘जग्गा बैना गरेर खरिद, बिक्रीमा टोखा नापी प्रमुख साह सहितका मानिसहरु जोडिएका छन्,’ डीएसपी कार्कीले भने,‘पीडित सन्तोषले जग्गा खरिद गर्न १ करोड १० लाख पैसा जम्मा गरेको देखिन्छ । जग्गा खरिद बिक्रीमा बदनियत देखिएकाले ठगीमा अनुसन्धान अघि बढाएका छौं ।’ टोखा नापी प्रमुख साहलाई पक्रन गरुडा प्रहरीले काठमाडौ प्रहरी परिसरलाई पत्र पठाएको छ । नापीका प्रमुख साह असार १५ गतेसम्म बिदामा बसेको नापी कार्यालय डिल्लीबजारका निमित्त प्रमुख प्रकाश ओलीले जानकारी दिए । ‘टोली प्रमुख साहविरुद्ध पक्राउ पुर्जी जारी भएको र साहलाई प्रहरी कार्यालय हाजिर हुन भनेर पत्र आएको छ,’ उनले भने,‘अहिले बिदामा रहेकोले हामीले जानकारी गराउन पाएका छैनौं । बिदा सकिएर आएपछि उहाँलाई पक्राउ पुर्जीबारे भन्छौ ।’

आफू ठगिएपछि नापी अधिकृत साहबाट साँवा र ब्याज गरी १ करोड ४० लाख फिर्ता गराइदिने भन्दै दुर्गाभगवतीका पूर्वअध्यक्ष साहले १० लाख लिएको भन्दै सन्तोषले गरुडा प्रहरीमा जाहेरी दर्ता गराएपछि पूर्वअध्यक्ष साहमाथि पनि पक्राउ पुर्जी जारी भएको हो । 

रौतहटकै चन्द्रपुरस्थित नापी कार्यालयमा २०७८ मा प्रमुख हुँदा अकुत सम्पति कमाएको आरोप पनि उनीमाथि लागेको थियो । तर त्यसमा अनुसन्धान भएको छैन । त्यसै बेला नापी प्रमुख साह र चौधरीबीच चिनजान भएको थियो । त्यसपछि काठमाडौंको नागार्जुन-४ का  विमलादेवी श्रेष्ठको सर्लाही हरिपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ७७३ को ११ कठ्ठा १४ धुर जमिन संयुक्त लगानीमा खरिद गर्ने सहमति भएको सन्तोषले सुनाए । 

सुरुमा सन्तोषले १ करोड १० लाख बैना गरेका थिए । रजिष्ट्रेसन पास गराउन पैसा अपुग भएपछि प्रमुख साहले लगानी गरी आफ्नो नाममा जग्गा ल्याएका थिए । सन्तोषका अनुसार २ करोड मूल्यमा उक्त जमिन किनबेच भएको थियो । उक्त जमिन साहले साझेदार भनिएका चौधरीलाई थाहै नदिई ०८०/०८१ मा चार कित्ता बनाई चार जनालाई बिक्री गरे पछि ठगीको आरोपमा प्रहरीमा जाहेरी परेको हो । आफ्नो १ करोड २५ लाख खर्च भएको र जमिन आफ्नै नाममा पास गराएर प्रमुख साहले ठगेको सन्तोषको आरोप छ । 

‘म यतिखेर न्यायको लागि प्रहरी कार्यालय धाइरहेको छु,’ उनले भने, ‘प्रमुख साहलाई पैसा फिर्ता माग्दा कुनै सुनवाइ नगरेपछि ठगीमा जाहेरी दिएको हुँ ।’ 

प्रहरीले जग्गाधनी बिमला श्रेष्ठको मृत्यु भइसकेको जानकारी पाएपछि छोरा धिरजलाई पक्राउ गरेको छ । उनलाई एक साताअघि हाजिर जमानीमा छाडिएको डीएसपी कार्कीले बताए । गरुडा प्रहरीका अनुसार जमिन खरिद गर्न सन्तोषले जग्गाधनी विमला र उनका छोरा धीरजलाई पटकपटक गरी १ करोड ४ लाख रुपैयाँ बुझाएको देखिन्छ । जमिनमा माटो भर्नेदेखि अन्य काममा पनि आफैंले लगानी गरेको उनले दाबी गरे । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully