नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँ : परराष्ट्रमन्त्री

असार ६, २०८२

कान्तिपुर संवाददाता

We are preparing to rescue Nepalis from Israel and Iran: Foreign Minister

काठमाडौँ — परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरू अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने तयारीमा रहेको बताएकी छन्।

आज परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डा. राणाले इजरायल र इरानमा जारी युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारीबारे छलफलका क्रममा सो जानकारी दिएकी हुन्।

परराष्ट्र मन्त्री डा. राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावास सक्रिय रूपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि दर्ता प्रक्रिया खुला गरिएको, र उनीहरू स्वदेश फर्कन चाहेमा उद्धारका लागि आवश्यक प्रबन्ध मिलाउने तयारी भइरहेको जानकारी दिएकी थिइन्।

उनले भनिन्, 'जिटुजी प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा त्यसका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व हो। त्यसका लागि सीमा क्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकेका छौँ। नेपालीहरू स्वदेश फर्कन चाहेमा उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामा छ।'

सो बैठकमा श्रममन्त्री शरदसिंह भण्डारीले मन्त्रालय पनि त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको र उनीहरू स्वदेश फर्कन चाहेमा उद्धारको तयारीमा सरकार लाग्नुपर्ने बताए। उनले हाल इजरायल जान अन्तिम तयारीमा रहेका व्यक्तिहरूलाई श्रम स्वीकृति नदिई रोकिएको जानकारी दिए ।

यही जुन १३ मा इजरायल–इरानबीच युद्ध सुरु भएकै दिन परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत दुवै पक्षलाई अधिकतम संयमता अपनाउन र वार्तामार्फत समस्या समाधान गर्न अपिल गर्दै ती मुलुकमा रहेका नेपालीलाई सम्बन्धित नेपाली दूतावाससँग सम्पर्कमा रहन अनुरोध गरेको थियो।

त्यसपछि जुन १५ मा सम्पर्क विवरणसहितको ट्राभल एड्भाइजरी जारी गरी सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन नेपालीहरूलाई अनुरोध गरिएको थियो। ती मुलुकमा हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीलाई ‘अनलाइन भिसा’ उपलब्ध गराउनेलगायत विषयमा खाडीस्थित सबै नेपाली नियोगलाई परराष्ट्र मन्त्रालयले गत बुधबार निर्देशन दिएको थियो।

साथै, मन्त्रालयले अनलाइन पोर्टल खोलेर नेपालीहरूको विवरण संकलन सुरु गरेको र सो पोर्टलमा हालसम्म ६०० जनाभन्दा बढीले विवरण दर्ता गराइसकेको जानकारी पनि दिइएको छ। यो प्रक्रिया जारी नै रहेको छ। परराष्ट्र मन्त्रालयले गत बुधबार दोस्रो पटक ट्राभल एड्भाइजरी जारी गरेर हाल इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन र नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण नगर्न अनुरोध गरेको थियो।

यसै साता नेपालका लागि इजरायलका राजदूत स्मुलिक आरी बाससँग परराष्ट्र मन्त्री डा. राणाले भेट गरी नेपाली नागरिकहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउन इजरायल सरकारलाई अनुरोध गरेकी थिइन्।

त्यसैगरी, इजरायलस्थित नेपाली दूतावास र इरान हेर्ने कतारस्थित नेपाली दूतावासलाई सम्बन्धित सरकारी अधिकारी, त्यहाँ कार्यरत संघसंस्था र नेपाली समुदायसँग निकट सम्पर्क कायम राख्न तथा सो सम्बन्धमा मन्त्रालयलाई ‘रियल टाइम रिपोर्टिङ’ गर्न निर्देशन दिइएको छ। हाल इजरायलमा ५ हजार ५ सयदेखि ७ हजार नेपाली रहेको र तीमध्ये अधिकांश तेल अभिभ, जेरुसेलम र हाइफामा रहेको जनाइएको छ। इरानमा १८ जना नेपाली रहेका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully