काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा विनियोजित शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएसँगै उनले सरकारले सदनलाई हेपेको आरोप लगाएका हुन्।
उनले कार्यसूची आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाए। उनले सदनमा आन्दोलन भएको लामो समय भए पनि सरकार बेखबर रहेको बताएका थिए। सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नुपर्ने नपर्ने? भन्दै प्रश्न गरे।
उनले भने, ‘सरकारले यो सदनलाई यत्तिकै हेपेको छ। यसको बयान गरी साध्य छैन। बारम्बार हामीलाई कार्यसूची आउँछ, फेरि कार्यसूची हटाइन्छ। कारण सोध्दा मन्त्रीको उपस्थिति छैन। सदनमा आन्दोलन भएको यत्रो समय भयो, त्यसको जबाफदेही पनि छैन। सम्माननीय प्रधानमन्त्रीज्यू यहाँ उपस्थित हुनुभयो। आजको कार्यसूचीमा पनि मन्त्रीहरू सबै उपस्थित हुनुहुन्न। यो विषयवस्तु संसद्ले नै हेर्नुपर्ने विषय हो। मन्त्रीहरूको उपस्थिति बेगर आज हुने छलफल अघि बढाइनु हुँदैन। यो हाम्रो नियमावलीको ठाडो उल्लङ्घन हो। नियमावली हामीले पालन गर्नुपर्ने, सरकारले पालन गर्नुपर्दैन? कहाँ सम्मको अन्याय हो यो।’
उनले बजेटको किताब नआउँदा खर्च कटौतीको प्रस्ताव दिन नपाएको गुनासो गरेका थिए।
