रास्वपा सांसदले लगाएका कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको चासो

असार ६, २०८२

कान्तिपुर संवाददाता

Prime Minister's concern about black clothes and blue ribbons worn by RSVP MPs

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले कालो वस्त्र र नीलो रिबन लगाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन्।

संसद्मा बैठक सुरु हुन लाग्दा रास्वपाका सांसदहरूले कालो वस्त्र र नीलो रिबन लगाएर संसद्मा उपस्थित भएको देखेपछि प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए। रास्वपा सांसद मनिष झाका अनुसार संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मानव तस्करीको विरोधमा आफूहरूले कालो वस्त्र र नीलो रिबन लगाएको जानकारी दिएका थिए ।

उनले नीलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी सङ्केत भएको बताएका थिए। प्रधानमन्त्रीलाई वस्त्रबारे जानकारी गराइसकेपछि प्रधानमन्त्रीले शुभकामना दिएका थिए ।

सांसद झाले भने, यो नीलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी सङ्केत हो। हामीले यो लगाएका छौँ। साथै कालो ड्रेस लगाएका छौँ। हामीले विगत २२ दिनदेखि विरोध गरिरहेका छौँ। लगभग १५ वटा बैठकमा विरोध गरेका छौँ। आज पनि निरन्तरता दिएका छौँ। विरोधको अर्को सङ्केत सबैले कालो वस्त्र पनि लगाएका छौँ। २२ दिनसम्म पनि आन्दोलन गर्दा देशको अभिभावक प्रधानमन्त्रीज्यूको यसबारेमा कुनै वक्तव्य आएको छैन। आज संसद्मै जम्काभेट भयो प्रधानमन्त्रीज्यूसँग। उहाँले किन यस्तो ड्रेस भनेर जिज्ञासा राख्नुभयो। हामीले मानव तस्करविरुद्धको विरोधमा छौँ भनेर जानकारी गरायौँ। उहाँले शुभकामना दिनुभयो।'

रास्वपाले २२ दिनसम्म आन्दोलन चल्दासमेत सरकारले चासो नदिँदा कालो वस्त्र लगाएर विरोध गर्नुपरेको बताएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully