काठमाडौँ — परराष्ट्र मन्त्रालयले युद्धग्रस्त इजरायल र इरानमा रहेका नेपाली नागरिकको उद्धारका लागि आवश्यक कार्ययोजना बनाउन सरोकारवाला अन्य मन्त्रालयका अधिकारीहरूसँग संयुक्त बैठक गरेको छ ।
बैठकमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयका अधिकारीहरू बैठकमा सहभागी थिए ।
नेपाल फर्किन चाहनेलाई उद्धार गरेर कसरी ल्याउने विषयमा बैठक केन्द्रित रहेको थियो । परराष्ट्रमन्त्री राणाले नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि सरकारले सम्भव भएका सबै उपायहरू अवलम्बन गर्नुपर्ने र त्यसका लागि मन्त्रालयगत सहकार्यमा जोड दिएकी थिइन् । युद्धग्रस्त क्षेत्रमा नेपालीहरूको अवस्थाबारे छलफल भएको थियो । श्रममन्त्री भण्डारीले आफूपनि इजराइलमा रहेका नेपालीसँग नियमित सम्पर्कमा रहेको बताएका थिए । बैठकमा विभिन्न विषयमा छलफल भएपनि उद्धारको ठोस कार्ययोजना भने तयार गर्न सकेको छैन ।
परराष्ट्रमन्त्रीका प्रेस सल्लाहका एकराज पाठकले उद्धार गर्नलाई आवश्यक पर्ने बजेट, हवाइजहाज पठाउन सक्ने स्थितिमा त्यसको व्यवस्थापन लगायत विविध पक्षमा बैठकमा छलफल भएको बताए । उद्धारका लागि आवश्यक तयारी पूरा गर्न एक प्रकारको पूर्वतयारी बैठक भएको पाठकले बताए ।
परराष्ट्र मन्त्रालयले रजिस्ट्रेसनका लागि आह्वान गरेपछि त्यसमा ६ सय जनाले आफूलाई रजिस्टर्ड गराएका छन् । ‘त्यहाँ दर्ता भएकाहरू सबै आजै–भोलि उद्धार गरिदेउ भनेका छैनन् । केहीले त्यस्तो चाहना राखेको पाइएको छ,’ उनले भने ‘उनीहरूलाई स्थलमार्गबाट कसरी बाहिर निकाल्ने विषयमा प्रयास गर्न सम्बन्धित दूतावासहरूलाई परराष्ट्रमन्त्रीबाट निर्देशन भइसकेको छ ।’ सरकार–सरकारबीचको सम्झौता भएर इजरायल पुगेका नेपाली कामदारहरूको सुरक्षा र उनीहरूलाई नेपाल फर्काउन उचित प्रबन्ध मिलाउन इजरायल सरकारलाई पनि अनुरोध गरिएको मन्त्री राणाले बैठकमा बताएकी थिइन् ।
युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको अवस्था लगातार अवलोकन गर्नका लागि पररराष्ट्रका सहसचिव नेतृत्वमा गृह, श्रम र पर्यटन मन्त्रालयका प्रतिनिधिहरू रहने गरी एउटा समिति समेत बनाइएको छ । उक्त समितिले २४ सै घण्टा त्यसमा काम गर्ने भनिएको छ ।
त्यस्तै, इजरायलस्थित नेपाली दूतावास र इरान हेर्ने कतारस्थित नेपाली दूतावासका अधिकारीलाई नेपाली समुदायसँगको निकट सम्पर्कमा रहेर ‘रियल टाइम रिपोर्टिङ’ गर्न भनिएको छ । इजरायलमा ५ देखि ७ हजार र इरानमा १७ जना नेपाली रहेको जनाइएको छ ।
