आठ पटक बगिसक्यो विनयी खोलाको डाइभर्सन

पुस अन्तिम साता विनयी खोलामा हृयूमपाइप राखेर डाइभर्सन निर्माण गर्दा ४८ लाख रुपैँया खर्च भएको थियो ।

असार ६, २०८२

नारायण शर्मा

Diversion of Vinayi Khola has flowed eight times

नवलपरासी — पूर्वपश्चिम राजमार्गको दुम्कीवासस्थित विनयी खोलामा बनाइएको डाइभर्सन बगेपछि चालकले जबर्जस्ती खोलाबाट बस पार गराउन खोज्दा बिहीबार मध्यरात झन्डै यात्रुसहित नै बस बग्यो । धन्न सशस्त्र प्रहरी र प्रहरीले समयमै रेस्क्यु गर्न सकेकाले मानवीय क्षति भएन । विनयी खोलामा बनेको डाइभर्सन सामान्य वर्षापछि आएको बाढीले बगाएको यो पहिलो पटक भने होइन ।

गत पुस २६ गते महेन्द्र राजमार्गको दुम्कीवासस्थित विनयी खोलमा रहेको फलामे पुल गह्रौ मालसामान बोकेको ट्रक गुड्दा भाच्चिएको थियो । त्यसपछि सडक विभागले डाइभर्सन बनाएर गाडी पास गराउँदै आएको थियो । तर यस्तो डाइभर्सन पटकपटक बग्दै आएको छ । बारम्बार डाइभर्सन बग्दा सरकारी लगानी मात्रै खेर गइरहेको छैन, हजारौ यात्रुहरुले बारम्बार अनाहकमा सास्ती पनि खेपिरहनुपरेको छ । 

गैंडाकोटदेखि दाउन्नेसम्मको राजमार्ग मर्मत स‌म्भारको काम हेर्ने सडक डिभिजन भरतपुरका अनुसार पुस अन्तिम साता विनयी खोलामा हृयूमपाइप राखेर  डाइभर्सन निर्माण गर्दा ४८ लाख रुपैयाँ खर्च भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर नारायणप्रसाद लामिछानेले त्यसयता हरेक पटक डाइभर्सन निर्माण गर्दा औसतमा एक लाख रुपैयाँ खर्च हुने गरेको बताए । विभागले पटकपटक डाइभर्सन बग्ने भएपछि त्यहाँ सरकारी जेसीबी, एक्स्काभेटर र डोजर राखिएको बताए । 

Diversion of Vinayi Khola has flowed eight times

५२ वर्ष अघि बिनयी खोलाको फलामे पुल बनाइएको थियो । राजमार्ग फराकिलो पार्ने क्रममा विनयी खोलामा पक्की पुल बनाएर पनि सकिएको छ । दुई साताअघि पक्की पुलको ढलान भएको थियो । सडक विभागका अनुसार ढलान गरेको चार सातापछि त्यसमाथीबाट गाडी गुडाउन मिल्नेछ । असार २२ मा ढलान गरेको चारासात पुग्ने भएकाले त्यतिन्जेल विनयी खोलामा यात्रुहरुले सास्ती पाइराख्ने देखिन्छ । 

दाउन्ने ठप्प हुँदा हजारौ यात्रुको बिचल्ली 

पूर्वी नवलपरासीको दुम्कीवास र पश्चिम नवलपरासीको बर्दघाट बजारको बिचमा १४ किलोमिटर लामो दाउन्ने सडक पर्दछ । मोडैमोड अनि अत्यधिक उकालो र हिलाम्य सडकका कारण पछिल्लो चारदिनदेखि यो सडक खण्ड अवरुद्द छ ।  जसको मारमा परिरहेका छन्, हजारौ यात्रुहरु । दुम्कीवासवाट ४ किलोमिटर पश्चिम दाउन्ने सडकमा ४ वटा ठुला कल्भर्ट निर्माणाधिन छन् । उक्त स्थानमा एकतर्फी मात्रै गाडी गुडाउन मिल्ने भएकाले पनि सडक खुलेका बेला पनि यहाँ जाम भइनै रहन्छ । 

बुधवार साँझ दुम्कीवास आइपुगेका बुटवलका रामचन्द्र काफ्ले बर्दघाट मात्रै पुग्न पाए घर पुगिन्थ्यो भन्ने आशमा बाटो खुल्ने समय कुरिरहेका छन् । उनले सुनाए, 'यो भन्दा लाजमार्दो के हुनसक्छ ?' 

Diversion of Vinayi Khola has flowed eight times

विनयी खोलामा डाइभर्सन बनाएर सडक खुलाएपनि दाउन्ने खण्डमा कहाँ कतिबेला समस्या हुन्छ र सडक अवरुद्द हुन्छ कुनै ठेगान छैन् । बिनयी त्रिवेणी गाउपालिकाका अध्यक्ष घनश्याम गिरीले सडक विभागले ग्राभेल मात्रं राखिदिने हो भने गाडीहरु चिप्लेर दुर्घटनामा पर्ने र सडक अवरुद्द हुने क्रम रोकिने बताउँछन् । उनले भने, 'सडक बिभागलाई यसबारे सयौं पटक गुहार्दा पनि वास्ता नगरेका कारण हजारौ यात्रुको बिचल्ली भइरहेको छ ।' गिरीले देशकै लाइफलाइन मानिने सडक खन्ड बिजोग भएको ६ वर्ष भइसकेको बताउँदै यसपाला भने हदै भएको सुनाए । 

राजमार्ग खुलाउने काम प्रहरीको होइन प्रहरीले ट्राफिक ब्यबस्थापन मात्र मिलाउने हो सडक निर्माण गर्ने , मर्मत गर्ने काम सडक बिभागको हो । सडकलाई मतलबै छैन गिरीले भने देशकै लाइफलाइन मानिने यो राजमार्गको बिजोग भएको ६ वर्ष भैसक्यो । समान्य वर्षाद हुनासाथ दाउन्नेमा गाडि चिप्लीएर उक्लन सक्दैन । 

प्रहरीका अनुसार शुक्रवार साँझदेखि सडक अवरुद्द भएकाले पश्चिम नवलपरासीको सुनवलदेखि पूर्वी नवलपरासी सम्मको झन्डै एक सय किलोमिटर क्षेत्रमा सडक जाम छ । बुटवल नारायणगढ सडकमा दैनिक १८ हजार भन्दा धेरै गाडी ओहोरदोहर गर्दछ । चारदिनदेखि गाडि वारपार हुन नसक्दा राजमार्गमा दोहोरो जाम छ । हजारौं यात्रु र सवारी चालकहरु सास्तीमा छन । 

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले राजमार्ग स्तरोन्नतीको काम जिम्मा लिएपनि ६ वर्ष सडक स्तरोन्नतीको काम सकेको छैन ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully