राजीनामाको घुर्की लगाउने सचिवहरूलाई हटाउनुपर्छ, कर्मचारी गुटबन्दी राज्यविरुद्धको अपराध हो : पाण्डे

'२२-२४ जनाले राजीनामा दिँदैमा के फरक पर्छ ? यी गए २२-२५ जना सहसचिव एकैदिन सचिव बढुवा हुन्छन्'

असार ५, २०८२

कान्तिपुर संवाददाता

Secretaries who demand resignation should be removed, employee factionalism is a crime against the state: Pandey

काठमाडौँ — संघीय निजामती सेवामा दुई वर्षको 'कुलिङ-अफ पिरियड' को विरोधमा उत्रिएका मुख्यसचिव र सचिवलाई हटाउन प्रतिनिधिसभामा एकीकृत समाजवादी संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले सुझाव दिएका छन् ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पाण्डेले मुख्यसचिव र सचिवका कारण निजामती सेवा विधेयक आउन नसकेको र संघीयता कार्यान्वयनमा बाधा पुगेको बताए । 

संघीय संसद् भवनमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले संघीय निजामती सेवा विधेयकमा राज्यव्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकको दुई वर्ष 'कुलिङ-अफ पिरियड' को व्यवस्था हटाउन नहुने बताए । सरकारले स्वीकार गरेर नै अवकाशमा गएपछि वा राजीनामा दिएको मितिले दुई वर्ष 'कुलिङ-अफ पिरियड' लाग्ने र त्यसअवधिमा संवैधानिक आयोग, कूटनीतिक वा अन्य सरकारी नियुक्ति नमिल्ने व्यवस्था विधेयकमा राखिएको उनले बताए ।

राज्यव्यवस्था समितिका सदस्यसमेत रहेका पाण्डेले भने, 'यसबीचमा मुख्यसचिव लगायतका सचिवहरू प्रधानमन्त्रीकहाँ गएर घुर्की लगाए, हामी सबै सचिव एकैपटक राजीनामा दिन्छौं भनेर घुर्की लगाए रे ! २२-२४ जनाले राजीनामा दिँदैमा के फरक पर्छ ? यी गए २२-२५ जना सहसचिव एकैदिन सचिव बढुवा हुन्छन् ।'

संसदीय समितिले पारित गरेको विधेयकको व्यवस्थाविरुद्ध मुख्यसचिव र सचिव गुटबन्दीमा लागेकामा पाण्डेले आपत्ति जनाए । 'कर्मचारीले घुर्की लगाएर हुन्छ ? त्यस्तो गर्नेहरूलाई हटाइदिए हुन्छ, निहुँ खोज्ने हो ? कर्मचारी भएर गुटबन्दी राज्यविरुद्धको अपराध हुन्छ,' उनले भने । 

प्रधानमन्त्री केपी शर्मा ओली नै अहिले 'कुलिङ-अफ पिरियड' को व्यवस्था हटाउन लागेका हुन् कि भन्ने आशंका उब्जिएको पनि पाण्डेले बताए । 'अहिले पनि हाउसमा रोक्ने प्रयत्न भइरहेको छ । प्रधानमन्त्री पछाडि हट्न कोसिस गरिरहेका छन् भन्ने सुनिएको छ, यो कदापि सहिँदैन,' पाण्डेले भने, 'समितिले सर्वसम्मतिले पारित गरेर आइसकेपछि बदल्न परेमा संसद्को बहुमतले बदल्न सक्छन् तर पार्टी नेताहरूले दबाब दिएर हटाए देश सुध्रिन्न र कर्मचारी संयन्त्र सुधार्न सकिन्न ।'

संसद्को मंगलबारको कार्यसूचीबाट निजामती विधेयक पारित गर्नुपर्ने विषय हटाउनु अनुपयुक्त रहेको पनि पाण्डेले बताए । 

निजामती विधेयक पारित नगर्दा संघीय कार्यान्वयनमा बाधा पुग्ने पाण्डेको भनाइ छ । यो विधेयक पारित नहुँदा प्रदेश सरकारमा कर्मचारीको समस्या रहेको उनको भनाइ थियो । विगतमा पनि निजामती विधेयक संसद्मा छलफल भएर सरकारले फिर्ता लगेको र त्यसको असर प्रशानिक संघीयता कार्यान्वयनमा समस्या आएको उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully