इजरायलको बीरसेबा क्षेत्रमा रहेका नेपाली सुरक्षित

असार ५, २०८२

होम कार्की

Nepalis in Israel's Beersheba area are safe

काठमाडौँ — इरानको क्षेप्यास्त्र आक्रमणमा बिहीबार बिहान क्षति पुगेको इजरायलको दक्षिणी सहर बीरसेबास्थित सोरोका मेडिकल सेन्टर आसपासको ‘बेताबोध’ (स्याहार–सुसार केन्द्र) मा कार्यरत नेपालीहरू सुरक्षित रहेका छन्।

यो सेन्टरको छेउमा रहेको दुई वटा बेताबोधमा ४५ जना नेपाली कार्यरत छन्। बीरसेबा क्षेत्रमा रहेका सात वटा बेताबोधमा कम्तीमा १२० जना नेपाली कार्यरत छन्।

सोरोका अस्पतालबाट करिब ६ सय मिटर दुरीमा रहेको बेताबोधमा कार्यरत प्युठानका भरत केसीका अनुसार सबै नेपाली सुरक्षित रहेका छन्।

'हामी ड्युटी जानु अघि नै मिसाइल खस्यो। त्यस बेला हामी सबै साथीहरू बंकरभित्र बसिसकेका थियौँ,' उनले इकान्तिपुर सँग भने, 'बीरसेबामा तीन दिनपछि मिसाइल खसेको हो।'

मिसाइल आक्रमणबाट अस्पतालका धेरै क्षेत्रमा क्षति पुगेको बताइएको छ, जसमा पुरानो शल्यक्रिया भवनमा उल्लेखनीय क्षति पुगेको छ। आपत्कालीन अवस्था बाहेक सबै सेवाका लागि अस्पताल बन्द गरिएको छ।

आपत्कालीन कक्षमा हाल धेरै सामान्य घाइतेहरूको उपचार भइरहेको छ।

होम फ्रन्ट कमान्डका सिपाहीहरूले अहिले सबै भवनहरूको निरीक्षण गरिरहेका छन्।

सोरोका मेडिकल सेन्टरका महानिर्देशक श्लोमी कोडेशले स्थानीय प्रेससँग कुरा गर्दै भने, 'सोरोकाको पुरानो सर्जिकल वार्ड भवनमा क्षेप्यास्त्र प्रहार भएको छ। यो पुरानो भवन हो, जुन हालैका दिनमा खाली गरिएको थियो।'

'अस्पतालका अन्य भवनहरूमा व्यापक क्षति पुगेको छ। सबै बिरामी र कर्मचारीहरू आश्रय स्थलमा थिए। हामीसँग भएका धेरै घाइतेहरूलाई सामान्य चोट लागेको छ,' उनले थपे।

गैर आवासीय नेपाली सङ्घ, इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले बीरसेबा क्षेत्रमा रहेका नेपालीसँग नियमित सम्पर्क रहेको बताए।

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully