काठमाडौँ — प्रधानमन्त्रीको अध्यक्षतामा रहने गरी गठन भएको उच्चस्तरीय शासकीय सुधार आयोगको पहिलो बैठक बुधबार बसेको छ। प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो बैठकमा आयोगको कार्यक्षेत्र र प्राथमिकताका विषयबारे छलफल भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे परिचयात्मक छलफल भएको थियो। आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन हुन बाँकी छ। उक्त मनोनयनपछि दोस्रो पूर्ण बैठक बस्ने तय भएको छ।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा सो १५ सदस्यीय आयोग गठन गरेको थियो। आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री राजकुमार गुप्तालगायत सहभागी थिए।
