काठमाडौँ-तराई/मधेस द्रूतमार्गको सुरु विन्दु डुकुछाप कायम गराउन जनजाति आयोगको सुझाव

असार ४, २०८२

कान्तिपुर संवाददाता

Suggestion of the Tribal Commission to establish Dukuchhap as the starting point of the Kathmandu-Tarai/Madhes Expressway

काठमाडौँ — आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दु ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुकुछापलाई कायम गराउन सुझाव दिएको छ। आयोगका अध्यक्ष रामबहादुर थापामगरले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उक्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

उक्त आयोजनाको हालको प्रवेश विन्दु ललितपुर महानगरपालिका–२१ को खोकनाको फुडोलमा कायम हुँदा आदिवासी नेवार समुदायको विस्थापनको जोखिम निम्त्याएको तथा स्थानीयबासीको मानव अधिकारको उलङ्घन भएको र बागमती नदी सफाइ सुधार आयोजनाको कार्यान्वयनबारे संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयअन्तर्गतको कार्य समूह र विशेष र्‍यापोर्टरबाट व्यक्त चासोका सम्बन्धमा नेपाल सरकारले पठाउनुपर्ने जवाफको कार्यमा सघाउन आयोगले सो प्रतिवेदन दिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले आयोगलाई सुझाव प्रतिवेदन दिन आग्रह गरेको थियो । प्रतिवेदनमा खोकना क्षेत्र नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले डुकुछापमा स्थानान्तरण गर्न उपयुक्त हुने उल्लेख छ।

साथै सरकारले यस्ता आयोजाना सञ्चालन गर्दा स्थानीय आदिवासी जनजाति समुदायसँग पूर्व सुसूचित स्वतन्त्र सहमति लिन पनि सुझाव दिइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully