सिन्धुपाल्चोकका नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन मौसम विभागको आग्रह

असार ४, २०८२

कान्तिपुर संवाददाता

Meteorological Department urges the residents around the river in Sindhupalchok to be cautious

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकका नदी क्षेत्रका बासिन्दालाई आउँदा केही दिनमा अत्यधिक वर्षाको सम्भावना हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागले बुधबार साँझ विज्ञप्ति जारी गर्दै असार ३ देखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रमा पर्ने भोटेकोशी नदीको जलाधार क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको चीनको प्रहरी कार्यलयमार्फत सूचना प्राप्त भएको हुँदा त्यहाँका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

सम्भावित वर्षाका कारण भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रहरू–भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकामा जोखिम उत्पन्न हुन सक्ने भएकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

हालको भू-उपग्रह र मौसम विश्लेषणका आधारमा उक्त क्षेत्रहरूमा मनसुनको प्रभाव जारी रहे पनि कमजोर अवस्थामै रहेको र हल्कादेखि मध्यम वर्षासम्मको सम्भावना रहेको विभागले जनाएको छ । यद्यपि मौसममा हुने आकस्मिक परिवर्तन र बाढीजन्य सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभागले निरन्तर अनुगमन जारी राखेको र अद्यावधिक सूचना नियमित रूपमा सार्वजनिक गरिने जनाएको छ ।

Meteorological Department urges the residents around the river in Sindhupalchok to be cautious

कान्तिपुर

Link copied successfully