काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरको मितेरी मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योतिबहादुर भण्डारीमाथि अन्य कसुरमा समेत अनुसन्धान थालेको छ ।
सीआईबी स्रोतका अनुसार भण्डारीले बर्दिया र कास्की * जिल्ला प्रशासन कार्यालयबाट फरक–फरक मितिमा दुई वटा नागरिकता लिई त्यसैको आधारमा दुई वटा राहदानी समेत बनाएका थिए । यही कसुरमा सीआईबीले उनीमाथि अनुसन्धान थालेको हो ।
ज्योतिबहादुरमाथि जिल्ला प्रहरी परिसर, काठमाडौँमा समेत उजुरी परेको छ । उनीविरुद्ध ठगीसम्बन्धी तीन वटा फरक–फरक उजुरी परेको प्रहरीले जनाएको छ ।
ललितपुरको मितेरी मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपमा ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट आजै काठमाडौँ ल्याइँदै छ । अध्यागमन स्रोतका अनुसार भण्डारीलाई सिङ्गापुर एयरलाइन्समार्फत कम्बोडियाबाट सिङ्गापुर हुँदै काठमाडौँ ल्याउन लागिएको हो ।
मितेरी सहकारीमा केही वर्षअघिसम्म नेपाली काँग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङकी श्रीमती ज्योति गुरुङ महाप्रबन्धक थिइन् । महाप्रबन्धक रहँदाकै समयमा सहकारीको बचत रकम अपचलन गरी फरार भएकी थिइन् । ज्योति गुरुङ र अर्का आरोपित ज्योतिबहादुर भण्डारी दुवैले रकम अपचलन गरेर फरार भएपछि प्रहरीले ‘इन्टरपोल’मार्फत ‘रेड नोटिस’ जारी गरी फरार सूचीमा राखेको थियो ।
उनीहरू फरार भएपछि मात्र उक्त सहकारीको बचत ठगी प्रकरण सार्वजनिक भएको हो । प्रहरीको प्रारम्भिक अनुमानअनुसार ज्योतिबहादुर सुरुमा थाइल्यान्ड हुँदै कम्बोडिया पुगेका थिए र त्यसपछि हाल श्रीलंकाको कोलम्बो पुगेका थिए ।
*सच्याइएको ।
